प्रधानमन्त्री मेद्वारा केही मन्त्री चयन

  • 14 जुलाई 2016
Image caption मेले जनमतसंग्रहपछि कन्जरभेटिभ पार्टी पुनः एकढिक्का हुनुपर्ने आवश्यकता ‍औंल्याएकी छन्।

ब्रिटेनकी नयाँ प्रधानमन्त्री टरिजा मेले ब्रिटेनले युरोपेली संघ छोडेसँगै अब देशले विश्वमा नयाँ भूमिका खेल्ने प्रतिवद्धतासहित पदभार सम्हालेकी छन्।

उनले आफ्नो मन्त्रिमण्डलमा लण्डनका पूर्व मेयर बोरिस जनसनलाई विदेशमन्त्रीमा नियुक्त गरेर धेरैलाई आश्चर्यचकित पारेकी छन्।

जनसन ब्रिटेनले युरोपेली संघ छोड्नुपर्ने अभियानका एक प्रमुख अभियानकर्ता थिए।

जनमतसंग्रहपछि प्रधानमन्त्री बन्न चाहने केहीमध्ये उनी पनि थिए।

नियन्त्रण

प्रधानमन्त्री कार्यालय ‘डाउनिङ स्ट्रिट’ पुग्ने बित्तिकै मेले 'आफ्नो सरकारले विशेष सुविधा पाएका केहीलाई मात्र नभई सबैका लागि काम गर्ने' बताइन्।

उनले भनिन्, "मैले नेतृत्व गरेको सरकारले विशेष सुविधा प्राप्त केही मानिसहरुको स्वार्थमा मात्र होइन बरु सबैका लागि काम गर्नेछ। तपाईंहरुको जीवनमाथि तपाईंको थप नियन्त्रणका लागि हामीले सक्दो सबै गर्छौं।"

संयुक्त अधिराज्यभित्रका राष्ट्रहरुबीच 'निकै मूल्यवान' सम्बन्ध रहेको भन्दै उनले आफ्नो कन्जरभेटिभ र युनियनिष्ट पार्टीलाई त्यसको बचाउ गर्न आग्रह गरिन्।

महारानी एलिजाबेथको शासनकालकी उनी १३ औं प्रधानमन्त्री हुन्।

यसअघिका प्रधानमन्त्री डेभिड क्यामरनको राजीनामा स्वीकारे लगत्तै महारानी एलिजावेथले मेलाई नयाँ सरकार गठनका लागि निम्तो दिएकी थिइन्।

बधाई

उनले आफ्नो सरकार गठन भएलगत्तै लण्डनका पूर्व मेयर बोरिस जनसनलाई विदेशमन्त्री बनाएकी हुन्।

जनसनले हालै भएको जनमत संग्रहमा ब्रिटेनले युरोपेली संघ इयु छोड्नुपर्ने अभियानको नेतृत्व गरेका थिए।

त्यस्तै मेको मन्त्रिपरिषद्मा पूर्व ऊर्जामन्त्री एम्बर रड गृहमन्त्री भएका छन् भने डेभिड डेभिस युरोपेली संघसँग वार्ता गर्ने मन्त्री भएका छन्।

ब्रिटेनकी दोस्रो महिला प्रधानमन्त्री बनेकी मेले चौबिसै घण्टा काम गरेर 'जेनतेन व्यवस्थामात्रै गरिरहेका' आमजनताका लागि केही गर्ने वाचा गरिन्।

तस्वीर कपीराइट PA

प्रधानमन्त्रीको कार्यालयले भनेको छ, उनलाई बुधबार साँझ युरोपेली नेताहरुले फोनमार्फत बधाइ दिएका थिए।

उक्त संवादका क्रममा मेले ब्रिटेनले युरोपेली संघ छोड्ने विषयमा वार्ता गर्ने तयारीका लागि केही समय आवश्यक पर्ने बताएकी थिइन्।

आवश्यकता

मेले घोषणा गरेका नियुक्तिहरुमा माइकल फ्यालन यसअघि जस्तै रक्षामन्त्री हुनेछन् भने सन् २०११ मा रक्षामन्त्रीबाट राजीनामा दिएका लियम फक्स अन्तर्राष्ट्रिय व्यापार राज्यमन्त्री हुनेछन्।

उनले ब्रिटेन युरोपेली संघभित्रै रहनुपर्ने पक्षमा वकालत गरेकी थिइन्।

फक्स र डेभिसको छनोट प्रेरित गर्ने खालको भन्दै त्यसले आफू थप आशावादी भएको युकिपका नेता नाइजल फराजले ट्वीटमार्फत भनेका छन्।

विदेशमन्त्रीमा नियुक्त बोरिस जनसनले उक्त पदमा आफूलाई नियुक्त गरिएकोमा कृतज्ञता जाहेर गरेका छन्।