ब्रिटेनमा मन्त्रिपरिषदमा व्यापक परिवर्तन

ब्रिटेनकी नयाँ प्रधानमन्त्री टरीजा मेले थुप्रै पुराना मन्त्रीको खारेजी र नयाँ मन्त्रीहरु नियुक्त गर्दै मन्त्रिपरिषदमा व्यापक परिवर्तन गरेकी छिन्।
ब्रिटेनले युरोपेली संघ (इयु) छोड्नुपर्छ भन्ने पक्षका एक प्रमुख अभियानकर्ता न्यायमन्त्री माइकल गोभले सरकार छोडेका छन् र शिक्षा र उत्तरी आयरलण्ड सम्बन्धी मन्त्रीहरु निकी मोर्गन र टरीजा विलियर्स पनि अब सरकारमा छैनन्।
उनीहरुको सट्टामा नियुक्त हुने थुप्रै मन्त्रीहरुको नाम सार्वजनिक भैसकेको छ।
विदेशमन्त्री बोरिस जनसन र अर्थमन्त्री फिलिप ह्यामण्ड लगायत धेरैजना मुख्य पदाधिकारीहरुको घोषणा बुधबार नै भएको थियो।
इयु छोडेपछिको स्थिति
अर्थमन्त्री फिलिप ह्यामण्डले ब्रिटेनले इयु छोड्ने निर्णय गरेपछि अर्थतन्त्रलाई स्थिर बनाउन आवश्यक सबैथोक गर्ने बताएका छन्।
तर धेरै कुरा सरकारको हात बाहिर भएको पनि उनले स्वीकारे।
ह्यामण्ड यो भन्दा अघिको मन्त्रिपरिषदमा विदेशमन्त्री थिए।
उनको स्थानमा बोरिस जनसन विदेशमन्त्री भएका छन्, जुन उनको लागि ठूलो प्रगति मानिएको छ।
परिवर्तन
यो भन्दा अघिको मन्त्रिपरिषदमा गृहमन्त्री रहेकी टरीजा मेको स्थानमा एम्बर रड गृहमन्त्री नियुक्त भएकी छिन्।
रक्षामन्त्री माइकल फालोनले आफ्नो स्थान कायम राखेका छन् भने इयु छाड्ने मामिलाका लागि नयाँ पद श्रृजना गर्दै मेले कन्जर्भेटिभ पार्टीका भूतपूर्व सचिव डेभिड डेभिसलाई उक्त विषयको मन्त्री नियुक्त गरेकी छिन्।
युरोपका बारेमा सन्देह गर्ने भनेर चिनिएका डेभिसलाई चित्त बुझाउन गाह्रो हुने मानिन्छ भने अर्का सन्देहवादी लियाम फक्सले व्यापारको जिम्मा सम्हालेका छन्।
तर परिवर्तनको सबैभन्दा स्पष्ट सूचक यसअघिका अर्थमन्त्री जर्ज अस्बर्नको खारेजी हो।
अस्बर्न डेभिड क्यामरनका प्रमुख सहायक र लामो समयदेखिका राजनीतिक मित्र थिए।
उनलाई खारेज गरेर आफुले चाहेको ढंगमा नेतृत्व दिने संकेत मेले दिएकी छिन्।
उनी सावधानी र सतर्कताका लागि परिचित छिन्, तर उनी निर्भिक निर्णय गर्नबाट डराउँदिनन्।