'महंगी नियन्त्रण गर्न खाद्यान्न स्टक राख्नुपर्ने'

  • 14 जुलाई 2016
तस्वीर कपीराइट bbc

महंगी दरलाई बजेटले तोकेजतिमै सीमित पार्न आवश्यक वस्तु, खासगरि खाद्यान्नको, पर्याप्त स्टक मौज्दात राखिनुपर्ने तथा कालोबजारी विरुद्धका कारवाही जारी राखिनुपर्ने राष्ट्र ब्यांकका गभर्नरले बताएका छन्।

साउनबाट शुरु हुने आगामी आर्थिक वर्षको मौद्रिक नीति प्रस्तुत गरे लगत्तै उनले मुद्रास्फिति अर्थात महंगीको दर साढे सात प्रतिशतमा सीमित पार्न निकै चुनौतिपूर्ण भएको प्रतिक्रिया दिएका छन्।

विशेषगरि भारतीय नाकाबन्दीपश्चात नेपालमा वेपत्ता बढेको महंगी दर अझै उच्च रहेको छ।

जोहो

केही समय अघि झण्डै ११ प्रतिशत पुगेको महंगी दर अहिले ९.९ प्रतिशतमा ओर्लिएको छ।

तर त्यसलाई बजेटले तोकेको सीमामा ल्याउन चुनौतिपूर्ण रहेको भन्दै केन्द्रिय ब्यांकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले त्यसका निम्ति आवश्यक खाद्य पदार्थको जोहो पहिले गरेर स्टक राखिराख्न पर्ने सुझाव दिएका छन्।

महंगीको मूल कारण रहने गरेका खाद्य पदार्थको पर्याप्त स्टक राख्नसके आपूर्तिकै कारण बजार भाउ तलमाथि हुनबाट रोक्न सकिने उनले बताए।

“बजार भाउ बढ्ने खाद्य वस्तुका स्टक राख्नु पर्यो। आयात हुने वस्तु छन् भने आयात बढाउनु पर्यो। होइन भने आन्तरिक उत्पादन बढाउनुपर्यो। साथसाथै कालोबजारी विरुद्ध अनुगमन र नियन्त्रण प्रभावकारी भए हामी लक्ष्य अनुरुप महंगीलाई नियन्त्रण गर्न सक्छौं,” उनले भने।

भारतीय सीमा नाकामा लामो समयसम्म भएको नाकाबन्दीले आपूर्ति व्यवस्था खल्बल्याएपछि आकाशिएको मूल्य वृद्धि अहिले सम्म नियन्त्रणमा आइसकेको छैन।

हाल महंगी बढ्नुको मुख्य कारण आपूर्ति को अवस्था नै रहेको तर ब्यांकबाट अन्य उपाय अपनाएर पनि यसलाई नियन्त्रणमा राख्न प्रयास हुने गभर्नरले मौद्रिक नीति प्रस्तुत गर्ने क्रममा बताएका छन्।

“माग पक्षबाट मुद्रास्फीतिमा चाप पर्न नदिन मौद्रिक योगाङ्कहरुलाई वाञ्छित सीमाभित्र राख्ने गरी मौद्रिक नीतिको कार्यदिशा निर्धारण गरिएको छ,” गभर्नरले उल्लेख गरे।

केन्द्रिय ब्यांकहरुले खासगरी मूल्य स्थिरता तथा मुद्रामा विश्वास कायम राखिरहन मौद्रिक नीति प्रस्तुत गर्ने गर्छन्।

त्यसबाहेक यसपालीको मौद्रिक नीतिमा राष्ट्र ब्यांकले शेयर तथा घरजग्गामा जाने कर्जामा केही कडाई अनि कृषि तथा उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई प्रोत्साहन गर्न खोजेको अधिकारीहरुले बताएका छन्।