मेको मन्त्रिमण्डलमा सदस्यहरु थपिंदै

  • 14 जुलाई 2016
तस्वीर कपीराइट AFP

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले प्रधानमन्त्री कार्यालय ‘डाउनिङ स्ट्रिट’ मा आफ्नो पहिलो दिन शुरु गरेसँगै मन्त्रिपरिषद् गठनलाई बिहीबार अबेरसम्म निरन्तरता दिनेछिन्।

ब्रिटेनले युरोपेली संघ छोड्नुपर्ने अभियानको नेतृत्व गरेका बोरिस जनसनले भनेका छन्, मे को मन्त्रिमण्डलमा नयाँ विदेशमन्त्रीका रुपमा नियुक्ति पाएर उनी कृतज्ञ भएका छन्।

मेको मन्त्रिमण्डलमा फिलिप ह्यामण्डले चान्सलरको पदका पाएका छन् भने एम्बर रडले गृहमन्त्री र डेभिड डेभिसले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी मामिला हेर्ने मन्त्रीको जिम्मेवारी पाएका छन्।

चान्सरको रुपमा उनका प्राथमिकताबारे सोध्दा ह्यामण्डले ‘आपतकालीन बजेट नल्याइने’ बताए।

प्रतिबद्ध

प्रधानमन्त्री मेले युरोपेली नेताहरुलाई आफू संयुक्त अधिराज्यले युरोपेली संघ छोड्ने विषयमा प्रतिबद्ध रहेको बताएकी छन्।

बुधबार साँझ फोनमार्फत बधाई दिएका फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्द, जर्मन चान्सलर एंगेला मर्केल र आइरिस प्रधानमन्त्री टिसक एन्डा केन्नीसँग संयुक्त अधिराज्यकी दोस्रो महिला प्रधानमन्त्री मेले कुराकानी गरेकी थिइन्।

प्रधानमन्त्रीको रुपमा दिएको पहिलो मन्तव्यमा उनले भनिन्, “मलाई थाहा छ तपाईंहरु २४ सै घण्टा काम गरिरहनुभएको छ। मलाई थाहा छ तपाइईंहरु आफूले सकेजति राम्रो गरिरहनुभएको छ र मलाई थाहा छ कहिलेकाहीं जीवन संघर्षपूर्ण हुन्छ।”

डाउनिङ स्ट्रिटका प्रवक्ताले भनेका छन्, मेले ब्रिटेनका जनताको युरोपेली संघ छोड्ने चाहना पूरा गर्ने प्रतिबद्धतालाई प्राथमिकतामा राखेकी छन्।

ब्रिटेनले युरोपेली संघ छोड्ने विषयमा वार्ताका लागि तयारी गर्न केही समय आवश्यक पर्न सक्ने उनले बताएकी छन्।

मेले यो विषय रचनात्मक र सकारात्मक ऊर्जासहित अघि बढ्ने आशा पनि व्यक्त गरिन्।

उनले बिहीबार अबेरसम्म स्वास्थ्य, शिक्षा लगायतका मन्त्रीहरु नियुक्त गरेर आफ्नो नयाँ मन्त्रिपरिषद्लाई पूर्णता दिन निरन्तरता दिनेछन्।

छवि

तस्वीर कपीराइट PA

प्रधानमन्त्री कार्यालयमा आएसँगै मेले आफ्नो नयाँ मन्त्रिपरिषद् बनाउन शुरु गरेकी हुन्।

उनको पहिलो नियुक्ति पूर्व विदेशमन्त्री फिलिप ह्यामण्डलाई जर्ज ओस्बोर्नको ठाउँमा चान्सलर बनाउनुथियो।

बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गले भनेकी छन्, ओस्बोर्नलाई उनको बिग्रेको छविका कारण पदबाट हटाइएको हो।

मेले अन्तर्राष्ट्रिय व्यापारका लागि राज्यमन्त्रीको नयाँ पदमा लियम फक्सलाई नियुक्त गरेकी छन् भने माइकल फ्यालनलाई रक्षामन्त्रीमा नियुक्त गरेकी छन्।

बीबीसीकी लोरा कुन्सबर्ग लेख्छिन्, जबजब टरिजा मे माईक्रोफोनको छेउमा पुग्छिन् “खाली काम अघि बढाउन चाहेको” भन्ने गर्छिन् र उनले त्यसै गरिन्। समय बर्बाद नगरी एक घण्टाभित्रै आफ्नो मन्त्रीपरिषद्का वरिष्ठ पदहरुको पूर्ति गर्न शुरु गरिन्।

प्रत्याशित रुपमा भुतपूर्व विदेशमन्त्री फिलिप ह्यामण्ड अर्थमन्त्री बनेका छन् र मेका समर्थकका रुपमा आफ्नो प्रमुख भूमिकाको शुरुवात गर्नेछन्।

विदेशमन्त्रीका रुपमा टोरी सदस्यहरुका प्रिय बोरिस जनसनको नियुक्ति सबैभन्दा अप्रत्याशित रह्यो।

देशकै सबभन्दा महत्वपूर्णमध्येको उक्त पदका जिम्मेवारीहरु ब्रिटेन इयुबा६ बाहिरिएपछिको चरणको शुरुवात गर्ने बेलामा धेरै फेरिएका छन्।

उत्साहित

बुधबार राति जनसनले नियुक्तिपछि आफू अत्यन्त अनुग्रहित र गौरवान्वित भएको बताएका छन्।

“हामीसँग स्पष्ट रुपमा युरोपसँगको र विश्वसँगको सम्बन्धलाई सफल बनाउने ठूलो अवसर छ र त्यसमा एउटा भूमिका खेल्न आग्रह गरिंदा म निकै उत्साहित छु।” उनले बीबीसीलाई बताए।

तर लिबरल डेमोक्रयाट नेता टिक फरोनले भने जनसनले आफ्नो समय विदेशमन्त्रीका रुपमा काम गर्नमा भन्दा आफूले अपमानित बनाएका देशहरुसँग माफी माग्नमा बिताउने अनुमान गरेका छन्।

बकिङ्गघम दरबारमा महारानीद्वारा ‍औपचारिक रुपमा प्रधानमन्त्री नियुक्त गरिएपछि मेले डाउनिङ स्ट्रीट अगाडि पहिलोपटक भाषण गरिन्।

उनले केही विशेषाधिकारप्राप्त मानिसका लागि मात्रै नभई सबैका लागि काम गर्ने सरकारको नेतृत्व गर्ने र जसोतसो जीवन धानिरहेका र धेरै समय काममा बिताइरहेका मानिसलाई आफ्नो जीवनमाथि बढी अधिकार दिने प्रतिबद्धता जनाइन्।

सम्मान

तस्वीर कपीराइट AP

“एउटा सामान्य काम गरेर खाने परिवारका लागि जीवन धेरै कठिन छ, जुन कुरा वेस्टमिन्स्टरका धेरै मानिसलाई थाहा छैन,” उनले भनिन्।

इंग्लण्ड, स्कटलण्ड, वेल्स र उत्तरी आयरलण्डका मानिसबीचको सम्बन्ध अमूल्य भएको भन्दै उनले हरेक मानिसबीचको सम्बन्धमाथि प्रकाश पारिन्।

उनले डेभिड क्यामरनलाई आधुनिक समयका महान प्रधानमन्त्री भन्दै प्रशंसा पनि गरिन्।

क्यामरनले यो भन्दा अघि त्यसै स्थानबाट आफ्नो अन्तिम भाषण दिंदै प्रधानमन्त्री बन्नु आफ्नो जीवनको सबैभन्दा गर्वको कुरा भन्दै आफू प्रधानमन्त्री बनेको समयभन्दा हालको समयमा ब्रिटेन धेरै बलियो भएको भनेका थिए।

महारानीसमक्ष आफ्नो राजीनामा पेश गर्नुअघि उनले अन्तिम पटक संसदको तल्लो सदनमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा भाग लिए जहाँ कन्जर्भेटिभ पार्टीका सांसदहरुले उनलाई सम्मान गर्दै उठेर ताली बजाएका थिए।