निस घटनाका हमलाकारीको पहिचान

  • 15 जुलाई 2016
तस्वीर कपीराइट Reuters

फ्रान्सका प्रहरीले, निस शहरमा जानाजान आफ्नो लरी मानिसहरुको भीडमा जोतेर दर्जनौंको ज्यान लिएका व्यक्तिको पहिचान सार्वजनिक गरेका छन्।

ती व्यक्ति निस शहरका बासिन्दा ३१ बर्षिय ट्यूनिशियाली मूलका फ्रान्सेली नागरिक भएको प्रहरीले बताएका छन्।

फ्रान्सेली संचार माध्यमहरुले ती ट्रक चालकको नाम मोहम्मद लहुएइज बूहलेल भएको बताएका छन्।

विवरणहरुका अनुसार सानातिना अपराध कार्यमा विगतमा संलग्न ती व्यक्तिका बारेमा फ्रान्सका प्रहरीलाई जानकारी थियो।

सूची

तर चरमपन्थी विचारधारा राख्‍ने युवा मुसलमानहरुको प्रहरी निगरानी सूचीमा भने उनी थिएनन्।

एउटा फ्रान्सेली टेलिभिजन च्यानलले जनाए अनुसार, ती ट्रक चालकको पहिचान स्थापित भएलगत्तै प्रहरीले निसस्थित उनको घरमा खानतलासी गरिरहेको छ।

ती ट्रक चालकले आफु एक्लैले सो हमला गरेका हुन् कि उनको साथमा अरु कोहि थियो भन्ने स्पष्ट भैसकेको छैन।

दावी

तस्वीर कपीराइट Reuters

हालसम्म सो हमलामा आफ्नो संलग्नता छ भन्ने बारे कुनै समूहले पनि दावी गरिसकेको छैन।

आपतकालीन सेवाका अधिकारीहरुले हमलास्थल प्रोमनाड डेज आंग्लेमा घाइते अवस्थामा रहेका महिला, पुरुष र बालबालिकाहरुको हेरविचार गरिरहंदा, प्रहरीले उक्त हमलामा प्रयोग भएको लरीमा प्रहरीले सुरागका लागि छानविन गरिरहेको छ।

उक्त ट्रकमा प्राप्त कागतपत्रहरुको आधारमा प्रहरीले ती निस शहरमा बसोबास गर्दै आएका ट्युनिसियाली मूलका फ्रान्सेली नागरिकको पहिचान गरेका थिए।