निस हमला: प्रत्यक्षदर्शीको बयान

  • 15 जुलाई 2016

निस शहरमा कम्तीमा ८४ जनाको ज्यान जानेगरी भएको लरी हमलाका प्रत्यक्षदर्शीहरुले त्यहां विद्यमान डर र आतंकको वातावरण र अनुभवका बारे बताइरहेका छन्।

तस्वीर कपीराइट AP

एकजना प्रत्यक्षदर्शी नादेर अल शाफेईले बीबीसीसंग कुरा गर्दै आफु कसरी ती हमलाकारीको सामुन्ने परेको र कसरी त्यहां गोली प्रहारको घटना भएको बारे बताएका छन्।

प्रत्यक्षदर्शीको बयान

"आतसबाजी प्रदर्शनको अन्त्य लगत्तै समुन्द्रीतटमा रहेका मानिसहरुमध्ये म पनि एक थिएं, र हामी फ्रान्सको राष्ट्रिय दिवसको आनन्द लिइरहेका थियौं।

“त्यो सकिएको पाँच मिनेटपछि सबै मानिसहरु सडकको मध्ये भागतर्फ गइरहेका थिए त्यत्तिकैमा हामीले मानिसहरु जोडजोडले चिच्याएको आवाज सुन्यौं। मैले एउटा ट्रक मतिर आइरहेको देखें।

“मुख्य सडकमा म ट्रकको ठीक सामुन्ने थिएं र केही मानिसहरु पहिले नै ट्रकमुनी किचिएर क्षतविक्षत भइसकेको देखें। मबाट करिव १ मीटर पर उसले एकाएक ट्रक रोक्यो, मैले अगाडिको सिसाबाट उसलाई देख्न सक्थें।

“शुरुमा त मैले त्यसलाई एउटा दुर्घटना ठानें, ट्रकका चालकले नियन्त्रण गुमाएर र मानिसहरुलाई दुर्घटनावश कुल्चिएका होलान् भन्ने सोचेको थिएं।

तस्वीर कपीराइट AFP

“त्यसैले ट्रक रोक्न मैले कराउँदै चिच्याउँदै उसलाई बोलाइरहें किनकि ट्रकमुनी मानिसहरु थिए। तर उसले कसैलाई हेरिरहेको थिएन, उ ट्रकभित्र केवल केही खोजिरहेको जस्तो गरी हतारो र बेचैनीका साथ चलिरहेको देखिन्थ्यो।

“उसका हातहरु स्टेरिंगमा थिएं, मैले सोंचे उसले नियन्त्रण गुमायो अनि ट्रक रोक्न खोजिरहेको छ।

“तर उसले केही उठायो, मैले त्यो मोबाइल फोन जस्तो देखें, त्यसैले मलाई फेरि उसले एम्बुलेन्स बोलाउने प्रयास गरेको हो कि जस्तो लाग्यो।

“म उसतर्फ फर्किएको थिएं, अकस्मात मेरो पछाडिबाट प्रहरीहरु आइरहेका थिए। र, मैले उसले बन्दुक निकालेको देखें र उसले सिसाको झ्यालबाटै गोली चलाउन शुरु गर्यो।

“त्यसैबेला प्रहरीले मलाई ‘भाग’ भन्दै पछाडि धकेले। उनीहरुले “भाग भाग” भनिरहेका थिए। त्यसैले म ४ मीटरजति पछि हटें।

तस्वीर कपीराइट Getty

“मैले मोबाइलफोन निकालें र त्यहाँ भइरहेको घटनाको भिडियो खिच्न शुरु गरें।

“मैले दौडिन सकिंन, म त्यतिकै त्यहिं अडकिएको जस्तो अनुवभ भयो। त्यसैले मैले त्यहांको सबै भिडियो खिचिरहें, प्रहरीले उसलाई नमार्दासम्म।

“ एकजना प्रहरीले मैले भिडियो खिचिरहेको देखे, उनी मलाई “भाग भाग’ भन्दै चिच्याउंदै म तर्फ आए। गोली प्रहार भैरहेका कारण उनीहरुले मलाई ‘तल बस, तल बस’ भनिरहेका थिए त्यसैले म भुईंमा लम्पसार परें।

“म भूईँमा सुतेकै भएपनि भिडियो भने खिचिरहेको थिएं। त्यसपछि ती प्रहरी फेरी म तर्फ आए र र समुन्द्रतटमा रहेका सबैलाई भाग्न भने, मलाई लाग्यो उनीहरुले ट्रकमा बम हुनसक्ने अनुमान गरेको हुनुपर्छ।

“ त्यसबेला मैले अवस्था निकै गम्भीर भएको ठानें र त्यहां तटमा रहेका अरु मानिसहरुसँगै भागें।“