निस हमलामा कम्तीमा ८४ को मृत्यु

  • 15 जुलाई 2016
तस्वीर कपीराइट Reuters

फ्रान्सको दक्षिणी शहर निसमा, राष्ट्रिय ‌दिवस “बास्टिल डे” को उत्सव मनाइरहेका मानिसहरुको भीडमा चालकले एउटा लरी लगेर जोतिदिंदा बालबालिकाहरु सहित कम्तीमा ८४ जनाको ज्यान गएको छ।

स्थानीय समय अनुसार रातीको ११ बजे समारोहस्थल प्रोमनाड डेज आंग्लेमा दुई किलोमीटरसम्म लरी चलाएर ती लरी चालकले मानिसहरुलाई किचिदिएका थिए।

प्रत्यक्षदर्शीहरुका अनुसार धेरै भन्दा धेरै मानिसहरुलाई मार्ने प्रयासमा चालकले सडकमा बांगोटिंगो गरी लरी चलाएका थिए।

उक्त लरीभित्र बन्दुक र ग्रीनेडहरु फेला पारिएको प्रहरीले जनाएको छ। राष्ट्रपति फ्रांस्वा ओलान्दले उक्त आक्रमणलाई “निश्चितरुपमा नै आतंककारी प्रकृतिको” भनेका छन्।

प्रधानमन्त्री मानुएल भाल्सले उक्त हमलामा मारिएकाहरुको स्मृतिमा शनिबारदेखि तीनदिने राष्ट्रिय शोक मनाइने घोषणा गरेका छन्।

संकटकाल

गत नोभेम्बर महिनामा, १३० जनाको ज्यान जानेगरी इस्लामिक स्टेट समूहले प्यारिसमा गरेको हमलापछि लागु गरिएको संकटकालीन अवस्थालाई तीन महिनाले लम्बाइएको छ।

फ्रान्सको राष्ट्रिय दिवस, “बास्टिल डे” मनाउने सिलसिलामा निस शहरको समुद्रीतटमा गरिएको आतसबाजी कार्यक्रम समाप्त भएको केही समयपछि नै उक्त लरी हमला शुरु भएको थियो।

तस्वीर कपीराइट AP

अगाडिको भागमा गोलीहरु लागेको एउटा सेतो लरीमा शुक्रबार बिहान प्रहरीले अनुसन्धान गरेका छन्।

निस माटिन समाचारपत्रका एकजना पत्रकारले घटनास्थलबाट विवरणहरु दिंदा त्यहां आफूले “एकदमै धेरै रगत” देखेको बताएका छन्।

आक्रमणमा पचासजना घाइते भएका छन्, ती मध्ये १८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।