‘सत्ता हत्याउने प्रयास देशद्रोही कार्य’

  • 16 जुलाई 2016

सेनाको एउटा खेमाले सत्ता हत्याउन गरेको प्रयासपछि टर्कीका राष्ट्रपति रिजेप तय्यीप एर्दोआनले इस्तानबुलमा त्यसविरुद्ध कडा अभिव्यक्ति दिएका छन्।

प्रधानमन्त्री बिनाली यल्दमिरले मुलुकको स्थिति ‘मुख्यतयता नियन्त्रणमै रहेको’ बताए लगत्तै छुट्टी मनाइरहेका राष्ट्रपति एर्दोआन इस्तानबुल फर्किएका छन्।

टेलिभिजनमा कडा रुपमा प्रस्तुत भएका एर्दोआनले ‘कु’ को प्रयासलाई देशद्रोही कार्यको संज्ञा दिंदै सेनामा शुद्धिकरण आवश्यक रहेको बताए।

उनले सेना प्रमुख जेनरल हुलुसी अकरको अवस्थाबारे थाहा हुन नसकेको जनाए।

बन्धक

यसअघि सेना प्रमुखलाई बागी सैनिकले बन्धक बनाएको खबरहरु आएका थिए।

टर्कीको सरकारी अभियोजनकर्ता कार्यालयका अनुसार ‘कु’ प्रयासका क्रममा राजधानी अंकारामा कम्तीमा ६० जनाको ज्यान गएको छ।

एकजना उच्च अधिकारीका अनुसार उक्त घटनालाई लिएर ३०० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ।

मारिएकामध्ये धेरैजसो गैरसैनिक छन्।

सरकारी सञ्चार संस्था एनाडोलुले विशेष सुरक्षा दस्ताको मुख्यालयमा गरिएको हमलामा १७ जना प्रहरी अधिकारीको ज्यान गएको बताएको छ।