टर्की: कू विफल भएपछि ठूलो संख्यामा गिरफ्तारी

  • 16 जुलाई 2016
तस्वीर कपीराइट Reuters
Image caption टर्कीको कूको विरोध गर्न सडकमा निस्कन राष्ट्रपति एर्दोआनले गरेको आग्रह स्वीकार्दै हजारौं सडकमा निस्केका थिए

टर्कीका अधिकारीहरुले विफल भएको सैन्य कूको सन्दर्भमा झण्डै तीन हजार न्यायाधीशहरुलाई पदमुक्त गरिएको र हजारौं सैनिकहरुलाई गिरफ्तार गरेका छन्।

अधिकारीहरुका अनुसार एक रातको हिंसामा झण्डै दुइ सय जना मारिएका थिए। टर्कीका प्रधानमन्त्री बिनाली यल्दरमले कू प्रयत्नलाई टर्कीको प्रजातन्त्रको कालो धब्बा भनेका छन्।

कू प्रयत्नको घटना सन्दर्भमा उच्च पदस्थ सहित २८३९ सैनिक गिरफ्तार गरिएको टर्कीका प्रधानमन्त्री बिनाली यल्दरमले बताएका छन्।

एक रातमा प्रधानमन्त्री यल्दरमकै शब्दमा १६१ जना मारिएका छन् र १४४० जना घाइते भएका छन्।

आरोप

राती अंकारा, इस्तानबुल र अन्यत्र विष्फोट र गोली हानेको आवाज सुनिएको थियो। र हजारौं टर्केलीहरु राष्ट्रपति एर्दोआनको कू षडयन्त्रकारीहरु विरुद्ध उठन गरेको आह्वान मान्दै सडकमा निस्केका थिए।

कू कसले गराएको भन्ने प्रष्ट भइसकेको छैन।

राष्ट्रपति रेसेप टैय्यप एर्दोआनले उनकै शब्दमा समानान्तर संरचना भनेर स्पष्ट रुपमा एकजना शक्तिशाली तर एक्लै जस्ता देखिने अमेरिकामा बस्ने मुश्लिम धर्मगुरु फेतुल्लाह गुलेनलाई आरोप लगाएका छन्।

तर गुलेनले एक विज्ञप्ती जारी गर्दै टर्कीका घटनामा आफ्नो सम्बन्ध भएको अस्वीकार गर्दै भनेका छन् “टर्कीमा प्रयत्न गरिएको सैनिक कूको कडा शब्दमा भत्सर्ना गर्छु।”

बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बावेनले कूको पछाडिको कारणबारे लेख्छन्- "राष्ट्रपति एर्दोआनको मुलुकको कायापलट गर्ने योजनामाथि टर्की गहिरो रुपमा विभाजित रहेका कारण र सिरियाली युद्धमा भइरहेको हिंसाको संक्रमणका कारण यो कू को प्रयत्न भएको हो।"

कारण

"राष्ट्रपति एर्दोआन र उनको एके पार्टी चुनाव जित्नमा खप्पीस छन् तर प्रजातन्त्रप्रति उनको दीर्घकालीन प्रतिबद्धतामाथि सँधै शंका छ। उनी राजनीतिक इश्लामवादी हुन् जसले टर्कीका निरपेक्षतावादीहरुलाई अस्वीकार गर्छन्। एर्दोआन बढ्दो रुपमा निरंकुश बन्दै गइरहेका छन् र आफुलाई बलियो कार्यकारी राष्ट्रपतिका रुपमा स्थापित गर्ने प्रयत्नमा छन्।"

"उनी सिरियाको युद्धमा इश्लामवादीहरुको समर्थन गर्छन्। उनकै गतिविधिका कारण टर्की जिहादीहरुको निशानामा छ। टर्कीले थुप्रै समस्याको सामना गर्नुपरेको छ र राष्ट्रपति एर्दोआन अपदस्त गर्ने यो प्रयत्न अन्तिम नहुन सक्छ।"

इस्तानबुलस्थित बीबीसीकी संवाददाता केटी वाट्सन भन्छिन् शनिबार विहान हुँदासम्म बोस्फोरस पुल पुन: खुलिसकेको थियो।

उनी भन्छिन् – "स्थिति पहिलेकै जस्तो बनिसकेको छ। पुलको व्यस्त ट्राफिकको आवाज सुन्न सकिन्छ। यहाँ शनिबारका लागि केहि शान्त जस्तो लाग्छ तर मानिसहरु हिजोअस्तिकै जस्तो गुडिरहेका छन्।"

तर मानिसहरु गएको दिनको घटनाबाट स्तब्ध छन्। शुक्रबार बोस्फोरसमा सैनिक ट्यांकहरु तयारी अवस्थामा रहे। सडकहरुमा सैनिकहरु देखिए र जमीनको नजिकै हुने गरी सैन्य जेटहरु उडेका भीडीयोहरु अंकारामा खिचिएको थियो।

विदा छोट्याएर राजधानी फर्कँदै गर्दा विमानस्थलमा राष्ट्रपति एर्दोआनले भने- "यी देशद्रोहीहरुले ठूलो मूल्य चुकाउनुपर्नेछ।"

टर्कीको संसद भवन राष्ट्रपति भवनमा आक्रमण गरिएको थियो। इस्तानबुल प्रहरी मुख्यालय बाहिर पनि गोलीको आवाज सुनिएको थियो।

प्रधानमन्त्री यल्दरमले परिस्थिति अहिले 'पूर्ण रुपमा नियन्त्रणमा' रहेको छ।