कन्दील हत्या प्रकरणः भाइ पक्राउ

  • 17 जुलाई 2016
तस्वीर कपीराइट AFP

पाकिस्तानमा सामाजिक सञ्जालमा लोकप्रिय मोडल कन्दील बलोचको हत्या प्रकरणमा उनका भाइ पक्राउ परेका छन्।

केन्द्रिय पाकिस्तानको डेरा गाजी खानबाट शनिबार राति २५ वर्षीय वसीम बलोचलाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्।

डन समाचारपत्रका अनुसार ‘बलोचको नाम कलंकित गरेकोमा’ वसीमले कन्दीललाई लागुऔषध खुवाएको र त्यसपछि घाँटी थिचेर मारेको स्वीकारेका छन्।

कहिले साहसी र कहिले अश्लील देखिने तस्वीर, भिडियो र अभिव्यक्ति सामाजिक सञ्जालमा राखेका कारण २६ वर्षीया कन्दील घरघरमा परिचित थिइन्।

विवाद

हालै एक प्रसिद्ध धर्मगुरुसँगको तस्वीर सामाजिक सञ्जालमा राखेपछि कन्दील विवादमा मुछिएकी थिइन्।

विवादका कारणमध्ये वसीमले धर्मगुरुसँग आफ्नी बहिनीले तस्वीर खिचेको विषयलाई उल्लेख गरेको प्रहरीलाई उद्धृत गर्दै डन समाचारपत्रले जनाएको छ।

वसीमलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ, “मैले मार्न लागेको उसलाई थाहा थिएन, मैले उसलाई औषधि दिएँ र त्यसपछि घाँटी थिचेँ।”

तस्वीर कपीराइट QANDEEL BALOCH TWITTER

मुल्तानको करिमाबादमा शनिबार बिहानै हत्या गरेपछि त्यहाँबाट भागेर वसीम डेरा गाजी खान पुगेको प्रहरीले बताएको छ।

दुईजना साथीहरुसँग वसीम भागेकोमा उनका साथीहरु अझै फरार छन्।

पञ्जाब प्रान्तको डेरा गाजी खान नजिकै पृतिक गाउँमा कन्दीलको आइतबार बिहान अन्त्येष्टि गरिएको थियो।