संयम रहन अमेरिकाद्वारा टर्कीलाई आह्वान

  • 17 जुलाई 2016
तस्वीर कपीराइट Reuters

अमेरिकाले शुक्रबार भएको सत्ता हत्याउने प्रयासपछि टर्कीलाई संयम रहन आह्वान गरेको छ।

अमेरिकी विदेशमन्त्री जन केरीले टर्कीका अधिकारीहरुलाई सत्ता हत्याउने प्रयासका विरुद्ध अनुसन्धान गर्दा कानुनी शासनलाई सम्मान गर्न आह्वान गरेका छन्।

सत्ता हत्याउने प्रयास विफल भएपछि टर्कीका अधिकारीहरुले प्रजातन्त्र रक्षाका लागि त्यहाँका जनतालाई आह्वान गरेसँगै इस्तानबुल र देशका अन्य सहरमा मानिसहरुको ठूलो भीड जम्मा भएको छ।

टर्कीका राष्ट्रपति रिजेप तय्यिप एर्दोआनले उक्त घटनामा अमेरिकामा रहेका पादरी फेलुल्लाह गुलेनको सुपुर्दगी चाहेका छन्।

आह्वान

सरकारको समर्थनमा हजारौं मानिसहरु गीत गाएर र राष्ट्रिय झण्डा फहराएर सहरका मुख्य सडकमा भेला भएका छन्।

टर्कीका राष्ट्रपति रिजेप तय्यिप एर्दोआनले समर्थकहरुको भीडलाई राजधानी अंकारास्थित शुक्रबार सत्ता हत्याउन प्रयास गरिएको संसदबाहिरको मुख्य भागमा सम्बोधन गरेका छन्।

सत्ता हत्याउने प्रयासमा सघाएको आरोप लगाएका टर्कीका पादरी फेतुल्लाह गुलेनलाई सुपुर्दगी गर्न एर्दोआनले अमेरिकालाई आह्वान गरेका छन्।

मानिसहरुको भीडमाझ उनले अमेरिकी राष्ट्रपतिलाई आह्वान गर्दै भने, “राष्ट्रपति, मैले तपाइँलाई दोहोर्याएर आग्रह गरेको छु, त्यो व्यक्ति हामीलाई सुम्पनुस्। मैले थुप्रैपटक भनेको थिएँ पेन्सिलभेनियामा बस्ने त्यो व्यक्ति र उसका मानिसहरु टर्कीमा कु गराउन खोजिरहेका छन्। तर तपाइँले सुन्नुभएन। आज सत्ता हत्याउने यो प्रयासपछि मेरो आवाज फेरि एकपटक अमेरिकालाई सुनाउन मन छ।”

अस्वीकार

तस्वीर कपीराइट epa

पादरी गुलेनले सत्ता हत्याउने प्रयासको निन्दा गर्दै उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

प्रधानमन्त्री बिनाली एल्दरिमले सत्ता हत्याउने प्रयासलाई टर्कीको प्रजातन्त्रमा कालो दाग भनेका छन्।

उक्त घटनालाई लिएर केही जेनेरलहरुसहित करिब तीनहजार सैनिकलाई हिरासतमा राखिएको छ।

त्यस्तै साढे दुई हजार न्यायाधीशहरुलाई बर्खास्त गर्न आदेश दिइएको छ।

शुक्रबार राति टर्कीका मुख्य सहरहरुमा बिस्फोटन र गोलीबारीको आवाज सुनिएका थिए।

अधिकारीहरुले प्रहरी र गैरसैनिक गरेर १ सय ६१ जनाको ज्यान गएको र सत्ता हत्याउने प्रयासमा संलग्न १ सय ४ जना सैनिकको पनि मृत्यु भएको बताएका छन्।

घाइते हुनेहरुको संख्या भने करिब साढे १४ सय छ।