लुइजियानामा तीन प्रहरीको हत्या

  • 18 जुलाई 2016
तस्वीर कपीराइट Reuters

अमेरिकी राज्य लुइजियानास्थित ब्याटन रुजमा तीन प्रहरीको गोली हानी हत्या गरिएको छ भने तीन अन्य घाईते भएका छन्।

घटनास्थलमा मारिएका एक व्यक्ति संदिग्ध हमलाकारी भएको जनाइएको छ।

सम्बन्ध

अधिकारीहरुले हत्या गर्नेको उद्देश्य थाहा नभएको तथा सो हत्याको दुई साता अगाडी त्यहाँ प्रहरीले एक अफ्रिकी अमेरिकी पुरुषलाई मारेको घटनासंग सम्बन्ध छ कि छैन भन्ने पनि प्रष्ट नभएको बताएका छन्।

त्यतिखेर एल्टन स्टरलिंगको प्रहरी गोलीबाट भएको मृत्यु अनि अर्का अश्वेत पुरुषको मिनेसोटामा भएको हत्यापश्चात अमेरिका भर विरोध प्रदर्शन भएका थिए।

अनि, ड्यालस शहरमा एक अश्वेत पूर्व सैनिकले बदला आक्रमण गर्दै पाँच प्रहरीको गोली हानी हत्या गरिदिएका थिए।

ब्याटन रुजको घटनाबारे मोबाइल फोनमा खिचिएका भिडियोमा घटनास्थल सडकको चौबाटोमा प्रहरी कारहरु आइपुगेको देखिन्छ अनि गोली प्रहार भएको आवाज सुनिन्छ।

एक जना प्रत्यक्षदर्शीले भने, “यो एकदमै व्यस्त सडक हो। तर मैले धेरै प्रहरी गाडी कुद्दै गएको देखें। उनीहरुले सबैलाई त्यो ठाउँबाट हट्न भने।”

एक व्यक्तिले मुख्य सडकमा राइफल बोकेर गइरहेको भन्ने खबर पाउनासाथ प्रहरी त्यहाँ पुगेको बताइएको छ।

एकताको आह्वान

तस्वीर कपीराइट Reuters

राष्ट्रपति ओबामाले सो घटनाको निन्दा गर्दै विभाजनकारी भाषा प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन्।

एकताका निम्ति आह्वान गर्दै उनले प्रहरीमाथिको हमला कुनै हालतमा उचित नहुने बताए।

“प्रहरीमाथिको आक्रमण हामी सबैमाथिको आक्रमण हो। कानुनी राज्यले मात्र समाजहरु सम्भव हुन्छन्। मैले गभर्नर एडवार्डस तथा मेयर होल्डन संग कुरा गरें र त्यहाँका अनि देशभरका कानुन कार्यान्वयन इकाइ प्रति मेरो पूर्ण समर्थन दोहोर्याएं,” उनले भने।

आलोचना

ब्याटन रुज गोली प्रहारको घटनाबारे प्रतिक्रिया दिंदै रिपब्लिकन दलका राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले नेतृत्वको अभाव भन्दै राष्ट्रपति ओबामाको आलोचना गरेका छन्।

क्लिभल्याण्ड राज्यको ओहायोमा हुन लागेको रिपब्लिकन नेशनल कन्भेनसनको अघिल्लो दिन उनले उक्त टिप्पणी गरेका छन्।

उक्त सम्मेलनले ट्रम्पलाई औपचारिक रुपमा रिपब्लिकन दलको उम्मेदवार मनोनित गर्ने ठानिएको छ।