बलिवुडमा सेन्सरशीपको द्वन्द्व

  • 18 जुलाई 2016
तस्वीर कपीराइट beena ahuja

यो वर्ष रिलिज भएका हिन्दी फिल्म उद्योग बलिवुडका फिल्महरुमध्ये उड्ता पञ्जाब छैटौं धेरै कमाउने फिल्म रह्यो।

तर एक महिना अगाडीसम्मपनि उक्त फिल्म रिलिज हुने हो वा होइन भन्ने ठेगान थिएन।

भारतको केन्द्रिय फिल्म सर्टिफिकेशन बोर्ड ले उक्त फिल्मका निर्माताहरुलाई ९४ ठाउँमा काट्न भनेका थिए। फोहोर बोलेको, पञ्जाबका शहरहरुको नाम उल्लेख गरिएको तथा लागुऔषध सेवन गरेका दृश्य काट्न अह्राइयो। जबकि उक्त फिल्म वास्तव लागुऔषध दुर्व्यसन बारे नै थियो।

तर अनुराग कश्यप सहित फिल्मका निर्माताले उक्त आदेशलाई मुम्बई अदालतमा चुनौति दिए। अदालतले केवल एक दृश्य - जसमा नायक शाहिद कपुरको पात्रले भींडमाथि पर्नेगरि पिसाब फेरेको देखिन्थ्यो - काट्ने गरी फिल्मको रिलिज अनुमति दियो।

“मलाई थाहा थियो यो फिल्म सजिलै पास नहोला भनेर तर जति मात्रामा हामीले द्वन्द्व झेल्न पर्यो त्यसको मैले कल्पना गरेको थिइंन,” कपुरले बीबीसीलाई भने। धेरैले सामाजिक सञ्जालमार्फत भारतमा सिर्जनात्मक स्वतन्त्रताको पक्षमा धारणा व्यक्त गरेकाले यो विवादले फिल्मलाई फाइदा गरेको उनले बताए।

जथाभावी

शोले जस्ता प्रख्यात फिल्मका सह लेखक जावेद अख्तर भन्छन् उड्ता पञ्जाब कुनै अपवाद होइन। “भारतमा सेन्सरशीप एकदमै जथाभावी तथा अकारण रुपमा हुने गर्छ,” अख्तरले बताए।

गत वर्ष सेन्सर बोर्डले एनएच टेन नामक फिल्मबाट पारिवारिक इज्जताका लागि भन्दै गरिने हत्या ‘अनर किलीङ्ग’ को दृश्य घटाउन लगाएको थियो। त्यस्तै दम लगाके हैशा भन्ने फिल्मबाट समलिङ्गी स्त्री झल्कने लेस्बियन शब्द हटाउन लगाइएको थियो।

वयस्कका लागि मात्र भन्ने प्रमाणपत्र दिनु अगाडी बोर्डले जेम्स बन्डको स्पेक्टर नामक फिल्ममा भएका चुम्बनको दृश्यको समय घटाउन लगाएको थियो।

अख्तर भन्छन् बोर्डमा कला नाटक साहित्य जस्ता सिर्जनशील क्षेत्रका पदाधिकारी भएको खण्डमा यस्ता विवादबाट बच्न सकिन्छ।

तर अचेल इन्टरनेट तथा सामाजिक सञ्जालले दिएको पहुँचले गर्दा सिर्जनशीलहरुको दायरा फराकिलो भएको छ। तापनि अनलाईनमा पनि सेन्सरका घटना नभएका भने होइनन्।

सन् २०१५ को फेब्रुअरीमा एआइबी कमेडी समूहले गरेको एक कार्यक्रमसम्बन्धी भीडियोमा अश्लील भाषा भएको भन्दै युट्युबबाट झिक्न लगाइएको थियो।

तर जे होस् बलिवुडका फिल्म निर्माताहरु झन झन् साहसी हुँदै गएको पाइन्छ। यसले उनीहरु तथा सेन्सरशीप माझको द्वन्द्व तत्काल सकिइहाल्ने छाँटकाँट देखिंदैन।