भारत: युवतीको सामूहिक बलात्कार

  • 18 जुलाई 2016
rape victim
Image caption भारतमा कानूनहरु कडा पारिएपनि बलात्कारका घटनामा कमी आउन सकेको छैन

भारतमा तीन वर्षअघि सामूहिक बलात्कारको शिकार भएकी एक युवतीलाई फेरि सोही समूहले बलात्कार गरेको भन्ने खालका विवरणहरु बाहिर आएपछि त्यहां आक्रोशपूर्ण प्रदर्शनहरु भएका छन्।

उत्तरी राज्य हरियाणाको रोहतकमा गत साता भएको भनिएको उक्त घटनामा संलग्न ठानिएका पुरुषहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।

पीडितले तीन वर्षअघिको घटनामा संलग्न भनिएका पांच पुरुषविरुद्ध अदालतमा मुद्दा लडिरहेका बेला पछिल्लो घटना भएको हो।

निर्मम

हरियाणास्थित कथित तल्लो जातिको परिवारकी २१ वर्षिया युवती गत बुधबार बेहोस अवस्थामा भेटिएकी थिइन्।

झाडीमा मृतप्राय: अवस्थामा भेटिएकी उनलाई एक जना बटुवाले अस्पताल पुराएका थिए।

स्थानीय एक अस्पतालमा उपचार गराइरहेकी ती युवतीको स्वास्थ्यअवस्थामा सुधार आइरहेको जनाइएको छ।

युवतीले आफूलाई कारभित्र जर्बजस्ती लगेर बलात्कार गरिएको र उक्त घटनामा संलग्न पुरुषहरुले घांटी थिची हत्या गर्न खोजेको बताएकी छन्।

उनी सन् २०१३ मा भिवानी बजारमा पहिलोपटक सामूहिक बलात्कारको शिकार भएकी थिइन्।

दबाब

धरौटीमा रिहा भएका आरोपितहरुले धम्की दिएपछि पीडित युवती परिवारसहित रोहतकमा बसाइ सरेको जनाइएको छ।

बुधबार रोहतकमा भएको घटनामा पहिलेकै समूह संलग्न भएको पीडित युवतीले एउटा स्थानीय टेलिभिजनलाई बताएकी छन्।

पांच जनाको उक्त समूहले आफ्ना भाइ र पिताको हत्या गर्ने धम्की समेत दिएको उनले बताइन्।

पीडित युवतीको परिवारले अदालतमा चलिरहेको मुद्दा बाहिर नै सल्टाउन आफूहरुमाथि आरोपितहरुले दबाब दिइरहेको जनाएको छ।

आरोपितहरुलाई तुरुन्तै पक्राउ गर्न माग गर्दै रोहतकमा आक्रोशपूर्ण प्रदर्शनहरु भएका छन्।

प्रहरीले आरोपितहरुको खोजीका लागि एउटा टोली भिवानी पठाइएको जनाएको छ।

चार वर्षअघि दिल्लीमा एक जना विद्यार्थीको बलात्कार र हत्यापछि महिलामाथिको हिंसा भारतमा व्यापक चर्चाको विषय बन्ने गरेको छ।

त्यसको प्रतिक्रियामा थप कडा कानूनहरु ल्याइएपनि यौन हिंसाका घटनामा कमी आउन भने सकेको छैन।