ट्रम्प विरोधीका प्रयास विफल

  • 19 जुलाई 2016

अमेरिकामा रिपब्लिकन दलका सम्भावित राष्ट्रपतिय उम्मेदवार डोनल्ड ट्रम्पका विपक्षी प्रतिनिधिहरु उनको उम्मेदवारी रोक्न गरेको अन्तिम प्रयासमा विफल भएका छन्।

क्लिभल्याण्डमा शुरु भएको पार्टिको राष्ट्रिय अधिवेशनमा केही प्रतिनिधिले आफुले चाहेको अर्को उम्मेदवारलाई समर्थन गर्न गरेको प्रयास विफल भएको बताइएको छ।

अन्तिम प्रयत्न

आफ्ना विविध टिप्पणीका कारण विवादित ट्रम्प बाहेक अर्कै रिपब्लिकन उम्मेदवार भएको देख्न चाहनेहरुका निम्ति उक्त प्रयत्न एक अन्तिम थियो।

ट्रम्पको मनोनयन संगै रिपब्लिकन दलमा द्वन्द्व शुरु भएको थियो।

बीबीसीका एन्थनी जर्कर भन्छन् ट्रम्पको उम्मेदवारी रोक्ने खालका कुनै नियम स्वीकृत हुने सम्भावना त थिएन तापनि केही प्रतिनिधिले चाहेजस्तो विरोध दर्ता गर्न दिइएको भए ट्रम्पका निम्ति त्यो लज्जाजनक हुन सक्थ्यो।

सोमबार अधिवेशनस्थलमा ट्रम्प पक्षधर तथा विपक्षीहरुबीच रहेको तनाव छताछुल्ल भयो।

जर्ज एचडब्लु बुश तथा जर्ज डब्लु बुश दुवै पूर्व राष्ट्रपति समेत रहेका रिपब्लिकन नेता अनुपस्थित रहे।

उनीहरुले ट्रम्पको उम्मेदवारीप्रति हालसम्म समर्थन जनाएका छैनन्।

तस्वीर कपीराइट Reuters

त्यसैगरि ओहायोका गभर्नर तथा ट्रम्पका पूर्व प्रत्याशी जोन क्यासीच अनि रिपब्लिकनका पूर्व राष्ट्रपति उम्मेदवार मीट रोम्ने पनि अनुपस्थित छन्।

लुइजियानाको ब्याटन रुजमा तीन प्रहरीको अश्वेत बन्दूकधारीले हत्या गरेको एक दिन पश्चात शुरु भएको उक्त अधिवेशन स्थलमा सुरक्षा कडा पारिएको छ।

मानिसहरुलाई सम्मेनस्थल वरपर बन्दूक बोकेर हिंड्न प्रतिबन्ध लगाइएको छ तापनि केहीले बन्दूक बोकेका तस्वीरहरु सार्वजनिक भएका छन्।

क्लिभल्याण्ड प्रहरीले ओहायोका गभर्नर समक्ष खुलेआम बन्दूक बोक्ने अधिकार अधिवेशन अवधिभर निलम्बन गरिदिन आग्रह गरेको छ।

तर गभर्नरले आफुलाई त्यस्तो निलम्बन गर्ने अधिकार नभएको बताएका छन्।