कू प्रयत्न गर्नेलाई निर्मूल पार्ने चेतावनी

  • 20 जुलाई 2016
तस्वीर कपीराइट

टर्कीको सरकारले गत साता सत्ता विद्रोहको प्रयत्नका लागि जिम्मेवार आन्दोलनलाई निस्तेज पार्ने काम कानुनको सीमाभित्रै रहेर गरिनेमा जोड दिएको छ।

टर्कीका प्रधानमन्त्रीले शुक्रबारको विफल सैन्य कू प्रयासपछि देशको सुरक्षा व्यवस्था सबल बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रधानमन्त्री बिनाली यिल्दिरिमले भने, शुक्रबारको विफल सैन्य कू प्रयत्नपछि टर्कीले देशको सुरक्षा अवस्थामा सत प्रतिशत सुधार गर्न आवश्यक छ।

उनले कू गर्न प्रयास गर्ने आन्दोलनलाई जरै देखि निर्मूल पार्ने प्रतिज्ञा पनि गरे।

यिल्दिरिमले भने, कूको प्रयास गर्ने आन्दोलनका अगुवा मानिएका अमेरिकाको पेनसिल्भेनिया निवासी इस्लामी धर्मगुरु फेतुल्लाह गुलेनलाई सुपुर्दगी गर्नका लागि अमेरिकालाई आवश्यक कागजपत्रहरु पठाइसकिएको छ।

अस्वीकार

तर गुलेनले शुक्रबारको विफल कू प्रयत्नमा आफ्नो संलग्नता भएको भन्ने आरोप अस्वीकार गरेका छन्।

प्रधानमन्त्री यिल्दिरिमले टर्कीमा कानुनको सर्वोच्चता हुनेमा जोड दिंदै टर्कीका जनतालाई बदलाको भावनाबाट अभिप्रेरित नहुन आग्रह गरेका छन्।

कू प्रयास विफल तुल्याइपछि हजारौं सेना प्रहरी र अन्य अधिकारीहरुलाई हिरासतमा लिइएको छ भने थुप्रैलाई निलम्बित गरिएको छ।

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख जेइद अल हुसैनले टर्कीमा न्यायाधीश तथा अभियोजनकर्ताहरुलाई गरिएको सामूहिक निलम्बनबाट आफू गम्भीर रुपमा चिन्तित भएको बताएका छन्।

उनले थुनिएका व्यक्तिहरुको अवस्थाबारे स्वतन्त्र अनुगमन गर्न दिन आग्रह पनि गरेका छ्न्।