टर्कीमा ‘विद्रोही' विरुद्ध कारवाही तीव्र

  • 20 जुलाई 2016
तस्वीर कपीराइट

न्यायाधीश र शिक्षक, सरकारी कर्मचारी र सैनिक सहित टर्कीमा बर्खास्त गरिएका मानिसको सूची लामो छ र अब के हुन्छ भन्ने बारेमा त्रास व्याप्त छ।

अधिकारीहरुले गत सप्ताहान्तमा गरिएको कूको असफल प्रयासका सम्बन्धमा सेनाका ९९ जना जनरलमाथि अभियोग लगाएको खबर प्राप्त भएको छ।

सुरक्षा परिषद बैठक बोलाइएपछि राष्ट्रपति रेजेप तय्यप एर्दोआनले आन्दोलनको समयमा आफुप्रति वफादार रहेका सैनिक कमाण्डरहरुलाई भेटेका छन्।

एर्दोआनले यसपछि मन्त्रीमण्डललाई भेट्ने र महत्वपूर्ण घोषणा गर्ने बताइएको छ।

उद्देश्य

राष्ट्रपति एर्दोआनको घोषित उद्देश्य सबै सरकारी संस्थाहरुको सफाइ गर्नु हो।

यो कारवाहीमा कतिजना परेका छन् त्यो यकीन तथ्यांक कसैलाई थाहा छैन।

तर प्रमुख सैनिक सहायक र वायुसेना सल्लाहकार लगायत राष्ट्रपतिसंग सबैभन्दा नजिक रहेका मानिसहरु निर्वासित धर्मगुरु फेतुल्लाह गुलेनका अनुयायी रहेको मानिएको छ।

विद्रोही विरुद्धको कारवाही निकै व्यापक भएको हुनाले पूर्वनियोजित थिएन भनेर थोरैले मात्र विश्वास गर्दछन्।

सूचीमा रहेका सबैजना गुलेनवादी हुने सम्भावना पनि कम छ।

आशंका

राष्ट्रपतिले अब के गर्छन् भन्ने बारेमा गहिरो आशंका र व्यापक चिन्ताहरु छन्।

केहीले हाल जारी कारवाहीलाई सन् १९८० मा भएको सैनिक कूसंग तुलना गरेका छन्।

तर ६ लाख जनालाई गिरफ्तार गरिएको उक्त घटना भन्दा हाल जारी कारवाही निकै सानो छ।

असफल कूका कारण सेनामा गहिरो क्षति पुगेको हुनाले सैनिक शासन लागू गरिने सम्भावना पनि कम छ।

तर आपत्कालिन कदमहरु भने चालिन सक्छन्।

त्रास

बिना अभियोग अझ धेरै मानिसलाई गिरफ्तार गरिन सक्छ र संसदको अनुमोदन विना नै सरकारी कर्मचारीलाई बर्खास्त गरिने सम्भावना छ।

समर्थकहरु सडकमा उत्रिंदा सरकारलाई फाइदा पुगिरहेको हुनाले कर्फ्यु लागू हुने सम्भावना भने न्यून देखिन्छ।

राष्ट्रपति एर्दोआनका घोषित शत्रु फेतुल्लाह गुलेन उनका भूतपुर्व समर्थक थिए र सन् ११९९ पछि भने स्वेच्छाले अमेरिकामा बस्दै आएका छन्।

फेतुल्लाह गुलेनले धेरै शत्रु बनाएका छन्, तर उनका अनुयायी पनि धेरै छन्।

उनीहरुले आफ्नो आयको २० प्रतिशत आन्दोलनलाई दिने गरेको ठानिएको छ।

उनीहरु टर्कीको समाजको हरेक क्षेत्रमा सक्रिय छन् र केहीले गत हप्ताको कू प्रयासमा आफ्नो संलग्नता स्वीकार गरेको बताइएको छ।