फ्रान्सद्वारा इराकलाई थप सहयोगको प्रतिबद्धता

  • 22 जुलाई 2016
ओलांद तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति ओलांदले फ्रान्सले प्रत्यक्ष लडाईं गर्न सैनिकहरु भने नपठाउने जनाए

फ्रान्सेली राष्ट्रपति फ्राँस्वा ओलांदले इस्लामिक स्टेट समूहविरुद्ध लडिरहेका इराकी सरकारी सेनालाई फ्रान्सले दिइरहेको सैन्य सहयोग बढाइने बताएका छन्।

गत हप्ता निसमा भएको आक्रमणको बारेमा छलफल गर्न बोलाइएको सुरक्षा परिष्दको बैठकपछि राष्ट्रपति फ्राँस्वा ओलांदले त्यस्तो घोषणा गरेका हुन्।

तर फ्रान्सले प्रत्यक्ष लडाईं गर्ने सैनिकहरु भने नपठाउने उनले दोहो-याए।

गत हप्ता निसमा एकजना मानिसले भीडमाथि जानाजान लरी कुदाएपछि ८४ जनाको मृत्यु भएको सन्दर्भमा उक्त घोषणा गरिएको हो।

निस आक्रमणको प्रतिक्रिया

इस्लामिक स्टेट समूहले ती लरीका चालक आफ्नो सैनिक भएको बताएको थियो।

उक्त आक्रमण आईएसको प्रचारप्रसारबाट प्रेरित भएको भन्ने कुरामा फ्रान्सको सरकारलाई कुनै शंका छैन।

प्रतिक्रियामा केही हप्ता भित्रैमा शक्तिशाली हतियारहरु पठाइने र आगामी सेप्टेम्बर महिनामा विमानवाहक जहाज पनि उक्त क्षेत्रमा खटाइने राष्ट्रपति ओलांदले बताएका छन्।

हालसम्म फ्रान्सले आईएसविरुद्धको लडाईंमा वायुसेनाका तर्फबाट सहयोग गरिरहेको छ। तर अब पहिलोपटक सैनिक हतियारहरु इराक पठाइने छन्।

ती हतियारहरु आगामी महिना आफ्नो गन्तव्यमा पुग्नेछन्।

आईएसको अखडा रहेको मोसुल शहर फिर्ता लिनका लागि हुने भनिएको इराकी आक्रमणको समयमा ती हतियार पु-याउने योजना बनाइएको अनुमान छ।

फ्रान्समा यो ग्रीस्म ऋतुमा नगर शहर र पर्यटकीय स्थलको गस्ती गर्नका लागि १० हजार सैनिक खटाइएको र रिजर्भमा रहेका १५ हजार सैनिकलाई काममा बोलाइएको ओलांदले बताएका छन्।