चियाको चिन्ता

  • 23 जुलाई 2016

उमाकान्त खनाल

संवाददाता, बीबीसी नेपाली सेवा

तस्वीर कपीराइट bbc

नेपालमा उत्पादित अर्थोडक्स चियालाई भारतमा खुल्ला विक्रीमा प्रतिबन्ध लगाउन भारतीय व्यापारीले माग गरेपछि नेपाली चियाको बजार खस्किने चिन्ता बढेको छ।

नेपालमा उत्पादित चियाको अधिकांश परिमाणको बजार भारत नै हो।

पूर्वी नेपालका पहाडी जिल्लाहरुमा उत्पादित अर्थोडक्स चियाको ८० प्रतिशत भारत निकासी हुने गरेको छ।

नेपालका चिया व्यवसायीहरुले यदी भारतले नेपालको चियाको खुल्ला विक्रीमा प्रतिबन्ध लगाए नेपाली चियाको बजारमा गिरावट आउने बताएका छन्।

बदनाम

भारतीय व्यापारीका अनुसार नेपालको चिया भारत भित्रिएपछि भारतको दार्जीलिङको चियाको रुपमा विक्री गर्ने गरिएको छ।

उनीहरुले नेपालमा उत्पादित चिया पूर्ण प्रांगारिक अर्थात अर्ग्यानिक नभएको दाबी गरेका छन्।

विश्व बजारमा भारत पश्चिम बंगालको पहाडि जिल्ला दार्जीलिङमा उत्पादित अर्थोडक्स चियालाई नेपालको चियाले बदनाम गराएको दार्जीलिङका चिया व्यवसायीहरुको तर्क छ।

नेपालको चिया दार्जीलिङकै चिया भनेर भारत तथा अन्तरराष्ट्रिय बजारमा विक्री हुने गरेको भन्दै उनीहरुले हालै भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेरै नेपालको चिया भारतमा खुल्ला आयातमा प्रतिबन्ध लगाउन माग गरे।

दार्जीलिङ टि एसोसिएसनका अध्यक्ष शिवशंकर बगारियाले भने, “दार्जीलिङको चिया पिउनका लागि पूर्ण सुरक्षित छ। तर नेपालको छैन। दार्जीलिङको चिया पूर्ण प्रांगारिक छ तर नेपालको छैन। त्यसैले नेपालको चिया भारतमा खुल्ला आयातमा प्रतिबन्ध लगाउन हामीले माग गरेका हौं।”

जाँच

उनीहरुले नेपालको चिया नेपालकै भनेर विक्री गर्न भने आफुहरुलाई कुनै आपत्ति नभएको बताएका छन्।

दार्जीलिङ टि एसोसिएसनका सल्लाहकार सन्दिप मुखर्जीले नेपालको चिया प्रांगारिक छ कि छैन भनेर कतै जाँच नहुने गरेको बताए।

उनले भने, “नेपालको चिया भारतमा बेच्ने हो भने नेपाल कै चिया भनेर बेच्दा हामीलाई आपत्ति छैन। तर दार्जीलिङको चिया भनेर बेचेर पाइँदैन।”

तस्वीर कपीराइट bbc

नेपालका अर्थोडक्स चिया उत्पादकहरुलाई भारतीय चिया व्यवसायीहरुको उक्त कदमले निकै चिन्तित बनाइदिएको छ।

नेपालमा उत्पादित चियाको थोरै मात्रा मात्र तेस्रा देशहरुमा निर्यात हुने गरेको छ। बाँकी भारतमै विक्री हुने गरेको छ।

त्यसैले अब व्यापारको अन्य विकल्प खोज्नुपर्ने अवस्था आएको इलाम पशुपतिनगर सुन्दरपानीस्थित गोर्खा टि स्टेटका प्रोपाइटर उदय चापागाईंले बताए।

उनले भने, “हामीले यो समस्यालाई चुनौती मात्र नभइ तेस्रो देश निर्यात प्रवर्द्धनको अवसरको रुपमा समेत लिनुपर्छ।”

नेपालका इलाम, पाँचथर, धनकुटा, तेह्रथुम लगायतका जिल्लामा वार्षिक ४० लाख केजी अर्थोडक्स चिया उत्पादन हुने गरेको नेपालका चिया व्यवसायीहरुले जानकारी दिएका छन्।