डा. केसीको समर्थनमा ‘दबाबमूलक’ प्रदर्शन

  • 23 जुलाई 2016
तस्वीर कपीराइट .

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै दुई सातादेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा शनिबार दबाबमूलक प्रदर्शन गरिएको छ।

संसद र राजनीतिक दलहरु नयाँ सत्ता समीकरणको खेलमा व्यस्त देखिएका बेला डा. केसीको स्वास्थ्य स्थिति बिग्रिदै गएको बताइएको छ।

त्यसैले उनको जीवनरक्षाका निम्ति सरकारमाथि दबाब दिन भनेर युवा विद्यार्थीदेखि विभिन्न पेशाकर्मीहरुले र्यालीमा सहभागिता जनाएका थिए।

राजधानीको माइतीघर मण्डलादेखि शुरु भएको र्याली नयाँ बानेश्वरस्थित संसद् भवनभन्दा केही वर निषेधित क्षेत्र अगाडि गएर सभामा परिणत भएको थियो।

‘पागल’

अधिकांश युवा विद्यार्थीहरु देखिएका उक्त र्यालीमा सहभागीमध्ये कतिपयले गालामा अंग्रेजीमा डा. केसीको संक्षिप्त नाम जीकेसी लेखेका थिए।

कतिपयले ‘पागल’ लेखिएको फेटा टाउकोमा बाँधेका थिए त कतिपयले ‘पागल’ लेखिएको कालोपट्टी पाखुरामा।

डा. केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्तिमार्फत लगाएको आरोपप्रतिको असन्तुष्टि र व्यंग्य थियो त्यो।

त्यही भीडमा थिइन् एमबीबीसीको प्रवेश परीक्षाको तयारीमा रहेकी किञ्जु न्यौपाने जो डा. केसीले उठाएका मागसँग आफू लगायत भविष्यमा चिकित्सक बन्ने सपना बोक्नेहरुको स्वार्थ जोडिएको ठान्छिन्।

आफूले महसुस गरेको एउटा बेथितिबारे उनले भनिन्, “मेहनत गरिरहेका सबै विद्यार्थीहरुले अवसर पाइरहेका छैनन् थोरै अंक ल्याएपनि पैसाको भरमा कतिपयले पढिरहेको हामीले देखेका छौँ।”

र्यालीमा सहभागी युवाहरुले खासगरी भ्रष्टाचार र बेथितिविरुद्ध लक्षित नाराबाजी गरेका थिए।

तस्वीर कपीराइट .

र, केही प्राज्ञदेखि पूर्व प्रशासक र वृद्धा पनि युवा अभियानलाई सघाउन पुगेका थिए।

राजनीतिकरण

अलि कान कम सुन्ने इमाडोल, ललितपुरबाट नानुमैया अधिकारीलाई आजको र्यालीमा कसरी र किन आएको भनी जिज्ञासा राख्दा उनको जवाफ थियो, “स्वतस्फूर्त रुपमा म आएको हुँ। जनतालाई महान देख्छन् र जनताको कुरा सुन्छन् भने माग पूरा गर्छन्, गोविन्द केसीको ज्यान बचाउँछन्।”

‘जनसरोकारका साझा मुद्दाका निम्ति डा. केसीले आफ्नो प्राण दाउमा राखेको’ बताउने र्यालीमै सहभागी कतिपयले उनको समर्थनमा भीड उर्लिनुपर्ने भन्दै त्यस्तो सहभागिता हुन नसकेको टिप्पणी गरिरहेका थिए।

डा. केसीको माग राजनीतिकरण गरिनु त्यसको कारण हुनसक्ने राजधानीको एउटा इञ्जिनियरिङ क्याम्पसमा अध्ययापनरत मदन न्यौपानेको ठम्याई छ।

तर पूर्वाधार नीतिसम्बन्धी अध्यापक एवं अनुसन्धानकर्ता सूर्यराज आचार्यले त्यसरी हेर्न नमिल्ने बताए।

उनले भने, “असल मान्छेहरुको भावना राम्रो हुन्छ तर त्यो भावनालाई मुखरित गर्ने प्रयास चाहिँ पातलो हुन्छ। यहाँ उपस्थित मूर्धन्य व्यक्तिहरुको यो सानो संख्या होइन। म एकहिसाबले धेरै उत्साहित भएको छु।”

कुनै राजनीतिक दलसँग आबद्ध नभएको बताउने सहभागी अधिकांश युवाको चेतावनी थियो- जनस्वास्थ्यसँग जोडिएका डा. केसीका मागहरुप्रतिको उदासीनतालाई राज्य र दलहरुले निरन्तरता दिए र सम्बोधन गर्न अबेला गरे त्यो उनीहरुका निम्ति महंगो साबित हुन सक्छ।