'काबुल हमलामा कम्तीमा ८० जनाको मृत्यु'

  • 23 जुलाई 2016
तस्वीर कपीराइट AP

अफगानिस्तानको राजधानी काबुलमा एउटा प्रदर्शनमा गराइएको आत्मघाती बम हमलामा मारिनेहरुको संख्या ८० पुगेको त्यहाँका अधिकारीहरुले जनाएको छ।

हाजरा आदिवासी अल्पसंख्यकहरुले पूर्वनिर्णय परिवर्तन गर्दै आफूहरुको प्रान्तदेखि टाढा पर्ने गरी सरकारले बिजुलीको प्रसारण लाइन लैजाने निर्णय गरेको विरोधमा देह मजाङ् क्षेत्रमा प्रदर्शन गरिरहेका थिए।

ठूलो संख्यामा रहेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरु आक्रोशित बनेका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार दुई सय जनाभन्दा बढी घाइते भएको र मृतकको संख्या बढ्न सक्छ।

अवस्था

बीबीसीका एकजना संवाददाता अनुसार घटनास्थलबाट प्राप्त समाचारहरुमा जनाइए अनुसार त्यहाँ क्षतविक्षत शव र पाखुराहरु छरपस्ट देखिएका थिए।

प्रदशर्नकारीहरुलाई रोक्न तथा राष्ट्रपति भवनको सुरक्षाका निम्ति उक्त क्षेत्रमा अधिकारीहरुले अवरोध खडा गरेकाले घटनास्थलमा एम्बुलेन्स पुग्न कठिनाई भएको थियो।

घाइतेहरुको उपचारका लागि आवश्यक रगत पुर्याउन रक्तदानका लागि अपील गरिएको छ।

घाइतेहरुको उपचारका लागि आवश्यक रगतको अभाव नहोस भनेर रक्तदानका लागि अपील गरिएको छ।

अधिकार

अफगान राष्ट्रपति अशरफ गनीले घटनाबाट आफू निकै दुखी भएको उल्लेख गर्दै भनेका छन्, "शान्तिपूर्ण प्रदर्शन प्रत्येक नागरिकको अधिकार हो, तर अवसरवादी आतंकवादीले घुसपैठ गरेर केही सुरक्षाकर्मीसहित कैयौं सर्वसाधारणको ज्यान जाने र घाइते हुने गरी आक्रमण गराएका छन्।"

तस्वीर कपीराइट AFP

कट्टरपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले घटनाको जिम्मेवारी लिएको छ।

पूर्वी अफगानिस्तानमा उक्त समूहको उपस्थिति भए पनि यसअघि उसले राजधानीमै आक्रमण गराएको स्विकार गरेको थिएन्।

तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहीदले सञ्चारमाध्यमहरुलाई इमेल पठाउँदै हमलाको निन्दा गरेका छन्।