अविश्वासको प्रस्तावमाथि आईतबार मतदान हुने

  • 24 जुलाई 2016
तस्वीर कपीराइट Uma Bista

प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वासको प्रस्तावमा आईतबार संसदमा मतदान हुँदैछ।

शुक्रबारदेखि उक्त प्रस्तावमा जारी छलफल आईतबारै सकिने र त्यसपछि मतदान हुने संसद सचिवालयका अधिकारीहरुले बताएका छन्।

जवाफ

सत्तारुढ नेकपा एमाले र विपक्षमा रहेका नेपाली कांग्रस अनि माओवादी केन्द्रबीच शुक्रबारै भएको सहमति बमोजिम थालिएको अविश्वासको प्रस्तावमाथिको छलफल आईतबार बिहान ११ बजे शुरु हुने संसद बैठकको पहिलो सत्रमा सक्याउने कार्यक्रम संसद सचिवालयको छ।

त्यसपछि दोस्रो सत्रमा पहिले प्रधानमन्त्रीले जवाफ दिने अनि मतदान हुने संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईंकेलले बताए।

“पहिलो सत्रमा बाँकी रहेका छलफल हुनेछ। त्यसपछि केही समयको विश्रामपश्चात दोस्रो सत्र शुरु हुनेछ। पहिले प्रधानमन्त्रीले जवाफ दिने र त्यसपछि मतदान हुने कार्यक्रम छ,” उनले भने।

सरकारमा रहेका पार्टीहरुले धमाधम समर्थन फिर्ता लिइसकेकाले गणितीय हिसाबमा विपक्षको साथमा बहुमत पुग्ने देखिएको छ।

तर नयाँ संविधानमा नयाँ सरकार गठनको स्पष्ट व्यवस्था नभएको भनी कतिपय कानुनविदहरुले बताएपछि आईतबारको मतदानपश्चात नयाँ सरकार बन्ने र बनाउने बाटोबारे ताजा राजनीतिक विवाद शुरु हुन सक्ने धेरैको आँकलन छ।