पूर्व सैन्य अधिकारीलाई आजिवन काराबास

  • 25 जुलाई 2016
तस्वीर कपीराइट Reuters

एक सैन्य अदालतले अवकासप्राप्त सैन्य जनरल ग्व बोशीङविरुद्ध भ्रष्टाचार गरेको ठहर गर्दै आजिवन कारावासको सजायँ सुनाएको सिन्हवाले जनाएको छ।

७४ वर्षिय जनरल ग्व बोशीङविरुद्ध आफ्नो प्रभाव जमाएर अरुलाई घुस लिएर बढुवा गर्ने गरेको अभियोग लगाइएको थियो।

सिन्हवा समाचार संस्थाका अनुसार उनको जनरल पद हटाइएको थियो र व्यक्तिगत सम्पत्ती जफत गरिएको थियो।

राष्ट्रपति सी जिनपिङले चार वर्षअघि राष्ट्रपति पद सम्हालेयता भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्रता दिएका छन्।

सो अभियान सुरु भएयता दर्जनौं अधिकारीहरुलाई भ्रष्टाचारको अभियोगमा जेल सजायँ दिइएको छ।

'शक्तिसाली'

जनरल ग्व बोशीङले सन् २००२ देखि सन् २०१२ सम्म विश्वकै ठूलो सैन्य फौज भनिने चिनियाँ सेनालाई निर्देशन दिने केन्द्रिय सैन्य आयोगका उपाध्यक्षको पद सम्हालेका थिए।

त्यो अवधिमा उनी चीनिया कम्युनिष्ट पार्टीको शक्तिसाली २५ सदस्सीय पोलिटब्युरोका एक सदस्य समेत रहेका थिए।

भ्रष्टाचारको अभियोगमा छानबिन सुरु भएपछि उनलाई गत वर्ष कम्युनिष्ट पार्टीले पदच्युत गरिदिएको थियो।

ग्वको मुद्दाको सुनुवाइ गोप्य सैन्य अदालतमा भएकोले सिन्हवाले उनले कति रकम भ्रष्टाचार गरेका थिए त्यो खुलाएको छैन।

केहि समयअघि साउथ चाइन मर्निङ पोस्ट समाचारपत्रलाई सुत्रहरुले ग्वविरुद्ध करिव एक करोड तीस लाख डलर भ्रष्टाचार गरेको अभियोग लगाइएको बताएका थिए।

'कबुल'

ग्वले आफ्नो कसुर कबुल गरेको, त्यसप्रति खेद प्रकट गरेको, फैसला स्वीकार गरेको र पुनरावेदन नगर्ने निर्णय गरेको सिन्हवा समाचार संस्थाले जनाएको छ।

चिनिया सेनाका मेजर जनरल रहेका ग्वका छोरामाथि पनि भ्रष्टाचारको अभियोगमा छानबिन भइरहेको छ।

यस अघि चिनिया सेनाका अर्का जनरल सु काइहाउविरुद्ध पनि बढुवा गराउने शर्तमा घुस लिएको अभियोग लगाइएको थियो।

तर मुद्दा सुरु हुनुअघि नै उनको मृत्यु भयो।