'अख्तियार प्रमुख विरुद्ध संघर्ष रोकिदैँन'

  • 25 जुलाई 2016
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सरकारी वार्ता टोलीसँग चार बुँदे सहमतिमा हस्ताक्षर गरेका डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।

आइतबार राती भएको सम्झौतापछि डा. केसीले सोमबार दिउँसो आमरण अनशन तोडेका थिए।

तर उनले आफूले हस्ताक्षर गरेको चार बुँदे सहमतिलाई उनले द्वीपक्षीय ‘सम्झौता’को रुपमा टिप्पणी गरे।

आफ्ना सबै माग सम्वोधन नभएको उल्लेख गर्दै उनले अब ‘खाना खाएरै’ संघर्ष गर्ने बताएका हुन्।

वचन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा शिक्षा सम्बन्धि एउटा प्रवेश परीक्षामा हस्तक्षेप गरेको भन्दै आयोगका प्रमुख आयुक्त र एकजना आयुक्तमाथि महाअभियोग लगाउने प्रक्रिया अघि बढाउनु पर्ने डा. केसीको एउटा मुख्य माग थियो।

तर संसदमा प्रवेश पाइसकेको भन्दै त्यसबारे 'केही गर्न नपर्ने'मा उनी राजी भएका छन्।

डा. केसीले भने, “केही बुँदामा सहमति भएको छ, सम्झौताको तरिकाले। दल/सरकार सबै जनतामुखि होइन, माफियामुखी हुन्, महाअभियोगबारे केहि भएको छैन्, संसदको सुशासन समितिमा सुनुवाई भएको छ, तर पनि त्यसको विरूद्ध आन्दोलन जारी रहनेछ।”

केसीका मागप्रति शुरुदेखि नै चासो देखाएका सांसद गगन थापा पनि अनशन अन्त्य गराउन उपस्थित थिए।

मागबारे संसदमा जरुरी सार्वजनीक महत्वको प्रस्ताव समेत दर्ता गराएका उनले केसीको पक्षमा सदैव उभिइरहने वचन दिए।

खाएर आन्दोलन

तस्वीर कपीराइट .

आफू कार्यरत शिक्षण अस्पतालको एउटा कोठाको शैयामा १६ दिनको अनशनले कमजोर बनेको उनको शरीर काँपिरहेको थियो।

हिमाल, पहाड र तराईबाट आएका तीन जनाको हातबाट जुस खाएर अनशन तोड्दा उनको आवाजमा भने दृढता झल्किन्थ्यो।

उनले भने, “हाम्रो आन्दोलन यो अहिले पहिलो चरण मात्रै हो। अब अझ सशक्त आन्दोलन गर्छौं, खाएर तर नेताले जस्तो होइन, दाल-भात, ढिंडो, गुन्द्रुक खाएर लड्छौ।”

त्यसको अर्थ कतिपयबाट आलोचित भएको पटक पटक गर्दै आएको अनशन उनले त्यागेका हुन्? जवाफमा केसीले भने, “खाना आएरै लड्ने त्यसले पनि भएन भने अनशन पनि बस्ने।”

डा. केसीको अर्को मुख्य माग संवोधन गर्ने विकल्पको रुपमा निकै विवादमा परेको मनमोहन अस्पतालको भौतिक संरचना वीर अस्पताल सञ्चालन गर्दै आएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले किन्ने सहमति गरिएको छ।