'बाढीपहिरोमा १५ जनाको मृत्यु'

  • 26 जुलाई 2016
तस्वीर कपीराइट .

देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण कम्तीमा १५ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

गृहमन्त्रालयका सहायक प्रवक्ता झंकनाथ ढकालले मंगलबार बिहान १० बजेसम्मको विवरण अनुसार अन्य आठ जना घाइते भएको र पांच जना बेपत्ता भएको जानकारी दिए।

उनले बढी प्रभावित पहाडी जिल्लाहरुमा खोजी जारी राखिएको र विवरण संकलनको समेत काम भइरहेको उल्लेख गरे।

यसअघि गृहमन्त्रालयले सोमबार बाढीका कारण पूर्वी तथा मध्य तराईको जनजीवन बढी प्रभावित भएको जानकारी दिएको थियो।

डुबानका कारण सप्तरीमा करिब ४ हजार, सुनसरीमा ३ सय र झापामा करिब २ सय परिवार प्रभावित भएको गृहमन्त्रालयले जनाएको थियो।

चेतावनी

Image caption देशका विभिन्न भागमा नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेको छ

देशका विभिन्न भागमा नदीहरुमा पानीको सतह जोखिमको तहभन्दा माथि पुगेपछि चेतावनी जारी गरिएको छ।

त्यस्ता नदीको वरपर रहेका बासिन्दाहरुलाई सर्तक रहन सूचना जारी गरिसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सोमबार रातिदेखि भारी वर्षा भएका कारण नदीको सतह बढेको बताइएको छ र तीव्र रुपमा वर्षा हुने क्रम बुधवारसम्म जारी रहने मौसमविद्हरुको अनुमान छ।

जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखाका जलविद् विनोद पराजुलीले गए मध्यरातिदेखि सुरु भएको भारी वर्षाका कारण चुरे क्षेत्रका पहाडी र तराई भूभाग प्रभावित भएको बताए।

काठमाण्डूको खोकनास्थित बाढी भविष्यवाणी केन्द्र, सिन्धुपाल्चोकको बाह्रविसे स्थित भोटेकोशी नदीको जलमापन केन्द्र र झापाको कन्काइचुली स्थित बाढी भविष्यवाणी केन्द्रले त्यहाँका नदीहरुमा पानीको मात्रा खतराको तह भन्दा माथि जानसक्ने चेतावनी दिएको उनले जनकारी दिए।

उनका अनुसार कन्काइ, नारायणी, भेरी, पश्चिम राप्ती, बबई, तिनाउ लगायतका जलाधारमा ठूलो बाढी आएको छ।

उनले भने, “ती सबै जलाधारहरुमा आज दिउँसोसम्म बाढीले चेतावनी तह पार गर्ने भविष्यवाणी गरी त्यही अनुसार स्थानीय प्रशासनलाई सूचना दिइएको छ।”