'बहुप्रतीक्षित' बैठकमा कार्की अनुपस्थित

  • 26 जुलाई 2016
तस्वीर कपीराइट ciaa facebook

देशकै एक प्रमुख विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको आरोप खेपिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका, प्रमुखसहितका आयुक्तहरु त्यसबारे छलफल गर्न मंगलबार डाकिएको एउटा संसदीय समितिको बहुप्रतीक्षित बैठकमा अनुपस्थित भएका छन्।

त्यसलाई कतिपयले संसदीय समितिको आदेशको अवज्ञाका रुपमा चित्रण गरिरहेका बेला अख्तियार प्रमुख लोकमानसिंह कार्कीले भने अस्वस्थतताका कारण उपस्थित हुन नसकेको पत्र समितिलाई पठाएका छन्।

काठमाण्डू विश्वविद्यालयले हालै लिएको चिकित्साशास्त्रको स्नातकोत्तर तह एमडी वा एमएसको प्रवेश परीक्षाबारे छलफल गर्ने भनिएपनि अख्तियार प्रमुखविरुद्ध महाभियोग लगाउनुपर्ने डाक्टर गोविन्द केसीको मागबारे पनि समिति बैठकमा चर्चा भएको थियो।

डाक्टर केसीको आमरण अनसन तोडिएकै भोलिपल्ट बसेको सुशासन तथा अनुगमन संसदीय समितिको बैठकमा उनले मूल रुपमा उठाएको अख्तियार प्रमुखको महाभियोगको विषयले प्रवेश पाउने अपेक्षितनै थियो।

आक्रोश

सोही विवादस्पद विषय छल्न पनि अख्तियार प्रमुख लोकमानसिंह कार्कीले आफ्नो स्वास्थ्यलाई अस्त्र बनाएको ठान्नेहरुको कमी छैन।

तर मंगलबार संसदीय समितिको दृश्य बिल्कुल विपरीत देखिन्थ्यो जहां बोल्ने १४ जना सांसदमध्ये अधिकांश, महाभियोग संसदको विशेषाधिकार भएको भन्दै डाक्टर केसीमाथि खनिएका थिए।

त्यस्तैमध्येका एक, एकीकृत माओवादीको कोटामा मनोनित सांसद जनकराज जोशीले भने, “डाक्टर गोविन्द केसीले एकजना सरकारी कर्मचारी भएरपनि अपहत्तेको राजनीति गरेजस्तो लाग्छ।”

गोविन्द केसीको मागसम्बन्धमा एकमत जस्तो देखिएका सांसदहरु काठमाण्डू विश्वविद्यालयको प्रवेश परीक्षा प्रकरणमा भने विभाजित सुनिए।

खण्डन

तस्वीर कपीराइट AP

केही, गत जेठमा भएको प्रवेश परीक्षामा अख्तियारले क्षेत्राधिकार मिचेर हस्तक्षेप गरेको निचोड सुनाउंदै थिए भने केहीले, विश्वविद्यालयकै गल्ती अनि कतिले चाहिं त्यसमा दुवै पक्षको मिलेमतो देखे।

ती सबै आरोपको अख्तियार सचिव शान्ताराज सुवेदीले खण्डन गरेपनि बैठकलगत्तै समितिले, १० दिनको समयसीमासहित त्यसबारे छानविन गर्न पांच सदस्यीय उपसमिति गठन गर्यो।

त्योसंगै प्रवेश परीक्षा प्रकरणले एउटा बाटो समाएजस्तो प्रतीत हुन्छ तर मंगलबार धेरैको चासो, उक्त विवादस्पद विषयमा छलफलका लागि समितिमा डाकिएका अख्तियार प्रमुखको अनुपस्थितिमा केन्द्रित जस्तो देखियो।

त्यस्तै चासोलाई लक्षित गर्दै अख्तियार सचिव सुवेदीले आफ्ना प्रमुखको सन्देश सुनाउंदै भने, “प्रमुख आयुक्तजीले आफ्नो पत्रमा स्पष्ट रुपमा शारीरिक कारणले अप्ठ्यारो भएको बताउनुभएको छ। उहांले एक हप्ता सार्न पाए म आफै आउंछु अथवा आवश्यकता पर्दा जुनसुकै बेला आफ्नो टोलीसहित छलफलमा आउंछु भन्नुभएको छ।”

कतिपय सांसदले प्रमुख आयुक्त बिरामी भएर उपस्थित नभएपनि अरु आयुक्तहरु किन सहभागी नभएको भन्दै प्रश्न उठाएका थिए।

सुशासन समितिले विभिन्न विषयमा आजसहित चारपटक अख्तियार प्रमुख कार्कीलाई डाकिसकेको छ जसमध्ये दुई पटकमात्रै उनी उपस्थित भएका छन् जसलाई कति, संसदीय समितिको आदेशको नियोजित अवज्ञा ठान्छन् त कति, अनावश्यक रुपमा उछालिएको विषय।