सिरियाली शहरबाट ‘मानवीय मार्ग’ खुलाइने

  • 28 जुलाई 2016
तस्वीर कपीराइट

रुसले घेराबन्दीमा परेको शहर अलेप्पोबाट सर्वसाधारणलाई निस्कनका लागि ‘मानवीय मार्गहरु’ खोल्नका लागि सिरियाली सेनासंग मिलेर काम गरिरहेको बताएको छ।

तीनवटा मार्ग खोलिने र थप एउटा मार्ग हतियारधारी विद्रोहीका लागि खोलिने रुसका रक्षामन्त्री सेर्गेई शोईगुले बताए।

सरकारी सेनाले अलेप्पो शहर घेराउ गर्दै विद्रोही नियन्त्रित क्षेत्रलाई एक्ल्याएको छ र सबै आपूर्ति मार्गहरु विच्छेद गरेको छ।

उक्त आक्रमणलाई रुसी हवाइ सेनाले सहयोग गरेको छ।

गम्भीर अवस्था

विगत ४ वर्ष देखि विद्रोहीहरुले उक्त शहरको पूर्वी भागमा कब्जा जमाएका छन्।

त्यहाँ रहेका ३ लाख मानिसको अवस्था गम्भीर रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ।

सोमबार राष्ट्रसंघका मानवीय कार्यक्रमका प्रमुख स्टेफन ओ’ब्रिएनले अलेप्पोमा आगामी अगस्ट महिनाको मध्यसम्म खानेकुरा सकिने अपेक्षा गरिएको र स्वास्थ्य सेवा केन्द्रहरुमाथि आक्रमण जारी रहेको बताएका थिए।

रुसी रक्षा मन्त्री सेर्गेई शोईगुले ती मार्ग खुलाउनुको मुख्य उद्देश्य अलेप्पोका वासिन्दाको सुरक्षा सुनिश्चित गर्नु रहेको बताएका छन्।

ती मार्गमा स्वास्थ्य सेवा केन्द्र रहने, खानेकुरा बाँडिने जानकारी दिंदै शोईगुले अन्तर्राष्ट्रिय सहायता संस्थाहरुको सहयोगको स्वागत गर्ने बताए।

बिहीबार प्राप्त भएका खबर अनुसार सरकारी सेनाले शहरका अन्य क्षेत्रमाथि पनि कब्जा गरेको छ।

सिरियाका राष्ट्रपतिले ३ महिनाभित्रमा हतियार छोडर आत्मसमर्पण गर्ने विद्रोहीलाई माफी दिने प्रस्ताव राखेका छन्।

बिहीबार जारी भएको एउटा आदेशमा उक्त प्रस्ताव गरिएको सरकारी समाचार संस्था सनाले बताएको छ।

हालका केही वर्षमा राष्ट्रपतिका तर्फबाट थुप्रैपटक माफीका प्रस्तावहरु गरिएका छन्।

अचम्भित

तस्वीर कपीराइट AFP

  ५ वर्षे युद्धकालभरी सहायता संस्थाहरुले मानवीय कार्यका लागि द्वन्दग्रस्त क्षेत्रमा पहुँच मागेका थिए, तर उनीहरु असफल भए।

अत्यधिक अन्तर्राष्ट्रिय दवावपछि मात्रै सिरियाली सरकारले सीमित संख्यामा सहायता सामग्री लिएका गाडीहरुलाई घेराबन्दीमा परेका क्षेत्रमा जान दिएको थियो।

घोषणाले धेरैलाई अचम्भित तुल्याएको छ।

सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूत स्टफान ड मिस्तुराले भने, “हामीसंग यसबारेमा सल्लाह गरिएको छैन। हामीलाई पनि अरुलाई जस्तै यस प्रस्तावका बारेमा जानकारी दिईंदैछ।”

रेडक्रसले सर्वसाधारणले पाउने कुनै पनि राहतको स्वागत गर्ने भन्दै उनीहरुको बहिर्गमन स्वेच्छाले हुनुपर्ने बताएको छ।

सिरियाको सबैभन्दा ठूलो शहर अलेप्पोलाई फेरि नियन्त्रणमा लिन सकेमा त्यो सरकारका लागि ठूलो जीत हुनेछ।

तर अहिलेसम्म लडाकुहरुले उक्त शहर छोड्ने कुनै संकेत देखिएको छैन।

विद्रोही र सर्वसाधारण दुबैले सरकारको घोषणालाई संशयका दृष्टिले हेरिरहेका छन्।

सिरियामा सन् २०११ को मार्च महिनामा द्वन्द शुरु भएदेखि झण्डै ३ लाख मारिएका छन् र दसौं लाख विस्थापित भएका छन्।