धनकुटा बस दुर्घटनामा १३ जनाको मृत्यु

  • 28 जुलाई 2016

धनकुटाको सिधुवामा भएको बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री सहित १३ जनाको मृत्यु भएको र २५ जना भन्दा बढि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख, एसपी विभुतीराज पाण्डेका अनुसार पुर्व अर्थराज्य मन्त्री हरिराज खेवाको दुर्घटना स्थलमा नै मृत्यु भएको छ।

पाण्डेले दुर्घटनाको कारण यकिन भइनसकेको बताए।

उनले भने, “दुर्घटनाको बेला सिमसिम पानी परिरहेको र बाक्लो हुस्सु लागेको थाह भएको छ। बसमा क्षमता भन्दा बढी यात्रु रहेको बुझिन्छ।”

चार जनाको उपचारका लागि धरान स्थित वीपी कोईराला स्वाथ्य बिज्ञान प्रतिष्ठानमा ल्याउदा बाटोमै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

संखुवासभाको चैनपुरबाट धरानतर्फ आइरहेको बस सडकबाट करिव ५० देखि ६० मिटर तल खसेको छ।

घाइतेहरुको उपचार धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।