प्राकृतिक प्रकोपले लियो ७५ को ज्यान

  • 28 जुलाई 2016
बाढी तस्वीर कपीराइट .
Image caption उद्धार गरिएकालाई सुरक्षित स्थानमा राख्‍ने काम भइरहेको अधिकारीहरुले बताएका छन्

लगातार परेको वर्षाले गर्दा देशको विभिन्न स्थानहरुमा गएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या ७५ पुगेको गृह मन्त्रालयले जनाएको छ।

प्रभावित क्षेत्रमा उद्धार र राहतको काममा लागेका सुरक्षाकर्मीहरुले बुधवार थप ९ जनाको शव फेला पारेको बताएका छन्।

बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको र उद्धार गरिएकालाई सुरक्षित स्थानमा खाने, बस्ने व्यवस्था मिलाउने काम भइरहेको अधिकारीहरुले बताएका छन्।

वर्षा नरोकिने

गत दुई दिनदेखि वर्षा कम मात्र भएपनि शुक्रबारदेखि पुन: बढ्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।

ज्यान गुमाउनेहरुमा धेरैजसो पहिरोमा परेकाहरु छन्।

प्युठान, रोल्पा, गुल्मी, बाग्लुङ र मकवानपुर जिल्ला पहिरोबाट बढी प्रभावित भएका छन्।

डुबानबाट प्रभावित भएका जिल्लाहरुमा सप्तरी, मोरङ, झापा र बाँके रहेको गृह मन्त्रालयले जनाएको छ।

बाढी, पहिरो र डुबानमा परेर अझै १२ जना हराइरहेको र ३१ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।

गृह मन्त्रालयका सहायक प्रवक्ता झंकनाथ ढकाले भने,"बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको छ। त्यस्तै घाइते भएकालाई हेलिकोप्टर र अन्य माध्यमद्धारा अस्पतालमा ल्याएर उपचार गर्ने काम अगाडि बढिरहेको छ।"

खोजी, उद्धार र राहतलाई प्रभावकारी बनाउन काठमान्डू र सुर्खेतलाई केन्द्र बनाएर हेलिकोप्टर परिचालन गरिएको बताइएको छ।

जोखिम क्षेत्रबाट उद्धार गरिएका र विस्थापित भएकाहरुलाई विद्यालय लगायतका सार्वजनिक स्थानमा राखिएको र कतिपयलाई पाल र त्रिपालको व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन्।

उनीहरुका लागि खानेकुरा वितरण गरिएको र दाल चामल लगायतको व्यवस्था मिलाउन समेत स्थानीय प्रशासनलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।

खै राहत

तर कतिपय जिल्लाका पीडितले भने उद्धारपछि सरकारी निकायहरुले बेवास्ता गरेको गुनासो गरेका छन्।

पछिल्लो दुई दिन न्यून देखिएको मनसुन पुन: सक्रिय हुनसक्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।

विभागका जलवायविद् विनोद पराजुलीले भने,"बुधबार र बिहीबार कुनैपनि ठाँउमा २५ मिलिमिटर भन्दा बढी वर्षा भएको हाम्रो रेकर्डमा छैन, शुक्रबारदेखि मनसुन फेरि सक्रिय हुने क्रममा छ। तर यो हप्ताको शुरुवातको जस्तो वर्षा सम्भवत: नहोला।"

हरेक वर्ष वर्षायाममा यस्तै स्थिति सामना गर्नुपर्ने भएपनि उद्धार र राहतका लागी पूर्व तयारीको भने अभाव देखिने गरेको छ।