इमेलबारे राष्ट्रपतिका प्रत्यासीबीच विवाद

  • 28 जुलाई 2016
clinton तस्वीर कपीराइट .
Image caption क्लिन्टन विदेशमन्त्री हुंदा बखतका उनका ३० हजार निजी इमेल विवादको घेरामा छ।

इमेलको विषयलाई लिएर अमेरिकामा भावी राष्ट्रपतिका प्रत्यासीहरुबीच विवाद चर्किएको छ।

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नी डेमोक्र्याटिक प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले यसअघि निजी सर्भरबाट हटाएका इमेल रुसले हेर्नुपर्ने बताएका छन् भने क्लिन्टनको टोलीले उक्त टिप्पणीलाई राष्ट्रिय सुरक्षामाथि खतरा पुर्याउन खोजेको रुपमा व्याख्या गरेको छ।

अनुसन्धान

हालै क्लिन्टनको निजी इमेल सर्भरबारे अनुसन्धान गरिएको थियो तर त्यसक्रममा उनले निजी विवरणहरु समेटिएको भन्दै ३० हजार इमेल अनुसन्धानकर्तालाई दिएकी थिइनन्।

ट्रम्पले भने, “रुस यदि तिमीले सुनिरहेको छौं भने, म आशा गर्छु हिलरी क्लिन्टनको निजी सर्भरबाट हराइरहेका ३० हजार इमेल पत्ता लगाउन तिमी सक्षम छौं। त्यसो भयो भने शायद तिमी, हाम्रो सञ्चारमाध्यमबाट पुरस्कृत हुनेछौं”।

डेमोक्रयाटिक पार्टीको राष्ट्रिय अधिवेशनका क्रममा चुहिएका इमेल ट्रम्पलाई फाइदा पुर्याउन रुसले चालेको कदमका रुपमा आरोपहरु लागिरहेका बेला ट्रम्पको पछिल्लो भनाइ आएको हो।

प्रश्न

ट्रम्पको उक्त भनाइ व्यांग्यात्मक भएको उनका समर्थकहरुले बताएका छन् तर हिलरी क्लिन्टनको चुनावी टोलीले भने त्यसलाई राष्ट्रिय सुरक्षासंग जोडेर व्याख्या गरेको छ।

क्लिन्टनका एक जना सल्लाहकारले राष्ट्रपतिका कुनै पनि प्रत्यासीले अर्को प्रतिद्वन्द्वीमाथि जासुसी गर्न विदेशी शक्तिलाई प्रोत्साहन गरेको यो पहिलो घटना भएको भन्दै ट्रम्पको आलोचना गरेका छन्।

ट्रम्पको टिप्पणीलगत्तै उनको उपराष्ट्रपतिका उम्मेदवार माइक पेन्सले जारी गरेको वक्त्व्यमा भने रुसले चुनावमा हस्तक्षेप गर्न खोजिरहेको केन्द्रीय जांच ब्युरोले प्रमाणित गर्न सके गम्भीर दुष्परिणाम देखिने बताएका छन्।