हिलरीद्वारा उम्मेदवारी स्वीकार

  • 29 जुलाई 2016
तस्वीर कपीराइट Reuters

डेमोक्र्याटिक पार्टिको जारी राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै हिलरी क्लिन्टनले राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रुपमा स्वीकार गरेकी छन्।

उनी इतिहासमै पहिलोपल्ट अमेरिकी राष्ट्रपति पदका लागि महिला उम्मेदवार हुनेछिन्।

सम्बोधनका क्रममा उनले अमेरिकाले गहिरो समीक्षाको समय सामना गरिरहेको बताइन्।

एकताकालागि आह्वान गर्दै उनले रिपब्लिकन पार्टिका तर्फबाट आफ्ना प्रत्याशी डोनल्ड ट्रम्पले आफैंले मात्र देशको सम्पूर्ण समस्या समाधान गर्न सक्ने भन्दै गरेको टिप्पणीको खिल्ली उडाइन्।

ट्रम्पले घृणालाई प्रोत्साहन गरेको उनले आरोप लगाइन्।

भविष्य

उनले सबै अमेरिकीले साथ साथ काम गरेर थप राम्रो भविष्य निर्माण गर्नुपर्ने बताइन्।

ट्रम्पले कोरा वाचा न कि कुनै परिवर्तनको एजेण्डा बोकेको उनले आरोप लगाइन्।

सम्बोधन अगाडी उनलाई उनकी छोरी चेल्सीले परिचय गराएकी थिइन्।

पछिल्ला सर्वेक्षणहरुले उनी र रिपब्लिकन पार्टिका उम्मेदवार डोनल्ड ट्रम्पबीच नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा कडा टक्कर हुने देखाएका छन्।

आफ्नो सम्बोधन मार्फत अनिर्णित मतदाताहरुलाई आकर्षित पार्ने कोशिश क्लिन्टनले गर्ने ठानिएको छ।

ट्रम्पले देश संकटमा रहेको दर्शाउने सन्देश दिने गरेको तर क्लिन्टनले भने अमेरिकाबारे सकारात्मक दृष्टिकोण पस्किने गरेको देखिएको छ।