ओलीको प्रस्ताव: पहिले संसद चुनाव

  • 29 जुलाई 2016
तस्वीर कपीराइट PIB

प्रधानन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनाउन अग्रसर दलहरुलाई सबैभन्दा पहिले प्रतिनिधिसभाको चुनाव गराउन आग्रह गरेका छन्।

राजधानीमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई विस्थापित गर्न आँटेकालाई चुनौती दिएको जस्तो सुनिने गरी नयाँ प्रस्ताव अघि सारेका छन्।

आफ्नो सरकार हटाउन हातेमालो गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता समेत उपस्थिति कार्यक्रमा उनले त्यस्तो आग्रह गरेका हुन्।

ओलीको सरकारले पहिले स्थानीय चुनाव गराउने घोषणा गरेको थियो।

कारण

तर अहिले प्रधानमन्त्री ओलीले किन फेरे बोली?

प्रधानमन्त्रीका एकजना सल्लाहकारले ‘भावि सरकार चुनाव नगराउने बाटोमा अग्रसर हुने सम्भावना देखेर प्रधानमन्त्रीले मुलुकलाई सम्भावित संवैधानिक संकटबाट जोगाउन’ त्यस्तो उपाए सुझाएको बताए।

ओली नेतृत्वको सरकार मंसिरमा स्थानीय, चैत-वैशाखमा प्रदेश र अर्को वर्षको मंसिरमा केन्द्रीय संसदको चुनाव गर्ने पक्षमा थियो।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार ‘तर चैतमा स्थानीय चुनाव गराउने कांग्रेस-माओवादीको तयारी भनेको चुनाव नगराउने तर्फको यात्रा हो’ भन्ने प्रधानमन्त्रीको बुझाई छ।

रिमालले भने, “आउँदो वर्ष माघसम्म चुनाव नभए भने संसद रहन्न र मुलुक खिलराज रेग्मीको नेतृत्वमा जस्तै अर्को गैरदलीय सरकार बनाउनेतर्फ लाग्छ भनेर प्रधानमन्त्रीले प्रतिनिधिसभाको चुनावको प्रस्ताव राखेका हुन्।”

छिमेक चर्चा

कार्यक्रममा दक्षिणी छिमेकी भारतसँगको निकै तिक्ततापूर्ण सम्बन्धकालमा प्रधानमन्त्री रहेका ओलीले दुबै छिमेकीसँग राम्रो सम्बन्ध सुमधुर राख्न चाहेको बताए।

उनले भने, “हामी सबैसंग मित्रता चाहन्छौं, तर हामी (कसैबाट) निर्देशित हुन चाहन्नौं, हामी लादिएका अरुका स्वार्थ बोकेर हिड्न किन बाध्य हुन्छौं, किन विवश हुन्छौं?”

कसैको नाम नलिए पनि ‌ओलीले भारतसँग नेपालको नाता सम्बन्धमा आउने उतार चढावसँग सुहाउँदा शब्द चयन गरेका थिए।

त्यसैले उनको भनाई भारत लक्षित असन्तुष्टिको रुपमा हेरिएको छ।