दुई बस जुध्दा नौ जनाको मृत्यु

  • 31 जुलाई 2016
तस्वीर कपीराइट .

मकवानपुरको मनहरीमा मध्यरातमा दुईवटा यात्रुवाहक बस एक आपसमा जुध्दा कम्तीमा नौ जनाको ज्यान गएको र ३२ जना घाइते भएको प्रहरीले जनाएको छ।

काठमाण्डूबाट उदयपुर तर्फ गइरहेको र काकडभिट्टाबाट काठमाण्डू आइरहेका ती दुई बस मनहरीको रमनटारमा ठोक्किएका मकवानपुरकी प्रहरी प्रमुख मिरा चौधरीले बताइन्।

उनका अनुसार घाइतेको स्थानीय चुरे हिल अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाग्रस्त मध्ये एउटा बसका चालकले आफु निदाएको र चट्याङ खसे जस्तो आवाज सुनेपछि दुर्घटना भएको थाहा पाएको बताएको प्रहरी उपरिक्षक चौधरीले जानकारी दिइन्।

घटना भएलगत्तै दुर्घटनास्थल पुगेर प्रहरीले उद्वार कार्वाही अघि बढाएको उनले बताइन्।

प्रहरीले मृतकमध्ये केहीको सनाखत भइसकेको जनाएको छ।

घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीका अनुसार दुवै बसका चालकहरु घाइते भएका छन् र स्थानिय अस्पतालमा नै उनीहरुको उपचार भइरहेको छ।