एलेप्पोबाट सर्वसाधारण बाहिरिँदै

  • 30 जुलाई 2016
तस्वीर कपीराइट Reuters
Image caption सिरियाको पूर्वी शहर एलेप्पोमा तीन लाख मानिसहरु घेराबन्दीमा फँसिरहेको बताइन्छ

सिरियाको राज्य नियन्त्रित सञ्चार माध्यमले घेराबन्दीमा परेको सिरियाली शहर एलेप्पोको पूर्वी क्षेत्रबाट दर्जनौं परिवारहरु बाहिरिएको जनाएको छ।

सञ्चार माध्यम सानाका अनुसार सर्वसाधारण बसमा चढे र उनीहरुलाई अस्थायी शिविरमा पुर्याइयो।

केही विद्रोहीहरुले सरकारी फौज समक्ष आत्मसमर्पण गरेको रिपोर्टमा जनाइएको छ।

सिरियाली सरकारको समर्थक रुसले विहिबार सर्वसाधारण र विद्रोहीहरुका लागि चारवटा बाहिरिने करिडर अर्थात मार्गहरु खुला गरिने घोषणा गरेको थियो।

सावधानीपूर्वक स्वागत

उक्त गतिविधिलाई संयुक्त राष्ट्र संघ, अमेरिका र केही सहायता एजेन्सीहरुले सावधानीपूर्वक स्वागत गरेका छन्।

अमेरिकाले सर्वसाधारण हटाएर विद्रोही समुहलाई आत्मसमर्पण गराउने प्रयास गर्न लागिएको हुन सक्ने बताएको छ।

शुक्रबार सिरियाका लागि संयुक्त राष्ट्र संघीय दूतले मार्गहरु संयुक्त राष्ट्र संघले व्यवस्थापन गर्नुपर्ने र मानिसहरुलाई सुरक्षापूर्वक बाहिरिन दिन ४८ घण्टे युद्धविराम गरिनुपर्ने बताएका थिए।

विद्रोही नियन्त्रित पूर्वी एलेप्पोमा करिब तीन लाख मानिसहरु फँसेको बताइएको छ।

संयुक्त राष्ट्र संघले उक्त क्षेत्रमा मध्य अगष्ट सम्ममा खाद्य सामग्री रित्तिने बताएको छ।

क्षमादान

सिरियाली राष्ट्रपति बसर अल असदले तीन महिनाभित्र हतियार विसाएर आत्मसमर्पण गर्नेलाई क्षमा गरिने घोषणा गरेका छन्।

ब्रिटेनस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पनि मानिहरुले एलेप्पो छोडिरहेको जनाएको छ।

रुसले तीनवटा मार्ग सर्वसाधारण र निशस्त्र लडाकुका लागि र क्यास्टेलो रोडतर्फको चौथो बाटो सशस्त्र लडाकुका लागि छुट्याएको बताएको छ।

तर सिरियाली विपक्षीले त्यो कारवाही सम्पूर्ण एलेप्पो आफ्नो कब्जामा पार्ने सरकारी षडयन्त्र भएको बताएको छ।