बहुमतीय सरकार बनाउन समर्थनको खोजी तीव्र

  • 31 जुलाई 2016
तस्वीर कपीराइट ..

राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना सकिएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बहुमतीय सरकारको पक्षमा समर्थन खोज्न प्रयास तीव्र बनाएका छन्।

सहमतीय सरकार बनाउने म्याद सकिने दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रमुख दलका प्रमुखको संयुक्त भेटपछि कांग्रेस सभापति शेरबहादुर देउवाले अब बहुमतीय सरकार गठनको प्रक्रिया शुरु हुने बताए।

उनका अनुसार राष्ट्रपतिले त्यो प्रक्रिया अघि बढाउन सोमबार संसदलाई आह्वान गर्नेछिन्।

सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको आह्वान अनुसार अघि बढ्ने बताइन्।

दोहोरो प्रयास

त्यसो भएमा बुधवार प्रधानमन्त्री निर्वाचन हुने अनुमान गरिएको छ।

त्यसैले चुनावअघि नै लिखित सहमति गरेर भरपर्दो सत्ता सहयात्री बन्न संघीय गठबन्धन र बनाउन कांग्रेस तथा माओवादी केन्द्र कार्यदल स्तरमा निकै व्यस्त रहे।

अर्कोतर्फ आफ्नै ढंगले सक्रिए प्रचण्डले राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापासँग समर्थन मागेका छन्।

उक्त दलका नेता दिलनाथ गिरीले भने, “राप्रपासँगको एकतापछि मात्रै यसबारे पार्टीमा छलफल गरिने जानकारी गरायौं, मंगलबारको बैठकबाट निर्णय लिन्छौं।”

सरकारमा गच्छदार

अविश्वास प्रस्ताव आएपछि सरकार छाडेको दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि प्रचण्डको संवाद सघन भएको बताइन्छ।

संवादको प्रगति सुनाउँदै उक्त दलका नेता रामजनम चौधरीले भने, “कांग्रेस-माओवादी केन्द्रसँग अनौपचारिक सहमति भइसकेको छ, लिखित सहमतिपछि पार्टीले एक-दुई दिनमा सरकारमा जाने निर्णय गर्छ, नेतृत्व अध्यक्षले नै गर्ने सम्भावना छ।”

कथंम कदाचित संघीय गठबन्धनसँग सहमति भएन र उसले भोट दिएन भने संसदमा बहुमत नपुग्ने वा पुगे पनि प्राविधिक बहुमत मात्रको जोखिमले हुनसक्छ प्रचण्डले विकल्पहरुमा पनि आँखा लगाइरहेको पाइन्छ।

उनले प्रथम दृष्टि सत्ताको निम्ति मरिहत्ते गर्ने भनी आलोचित दल र नेतामाथि लगाए जस्तो देखिन्छ।