अलेप्पोबाट केही मानिस बाहिरिए

  • 31 जुलाई 2016

सिरियाका सरकारी सञ्चारमाध्यमले भनेका छन्, घेराबन्दीमा रहेको अलेप्पो सहरको पूर्वी क्षेत्रका दर्जनौं परिवारहरु मानवीय मार्ग हुँदै त्यहाँबाट बाहिर निस्किएका छन्।

उनीहरुले भनेका छन्, मानिसहरुलाई बसमार्फत अस्थायी बासस्थानमा लगिएको छ।

केही लडाकुहरुले सरकारी फौजसमक्ष आत्मसमर्पण गरेको बताइएको छ।

रुसी र सिरियाली फौजले उक्त मानवीय मार्ग बनाएका हुन्।

सहायता

सिरिया सरकारलाई सघाइरहेको रुसले, यसअघि घेराबन्दीमा रहेका मानिसहरुलाई त्यहाँबाट निस्कन दिन चारवटा मानवीय मार्ग खुल्ला गरिएको बताएको थियो।

तर सिरियाको विपक्षी पार्टीले अलेप्पो सहरलाई पुन: नियन्त्रण गर्न, त्यो सरकारको चाल भएको बताएको छ।

विपक्षी हाइ नेगोसियसन कमिटीका एकजना अधिकारीले उक्त मार्गहरु सहायता पुर्याउनका लागि नभइ मानिसहरुलाई बाहिर निकाल्नका लागि बनाइएको बताए।

उनले आफ्ना मानिसहरुका लागि छोड या मरको क्रुर सन्देश दिइएको बताए।

अभाव

संयुक्त राष्ट्रसंघ, अमेरिका र केही सहायता संस्थाहरुले मानवीय मार्ग खोलिने कार्यको सतर्कतापूर्वक स्वागत गरेका छन्।

यद्यपि वासिङ्टनले उक्त सहरबाट गैरसैनिकलाई हटाउन र विद्रोही समूहलाई आत्मसमर्पण गराउन यो योजनाको प्रयास गरिएको हुनसक्ने बताएको छ।

गत शुक्रबार सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूतले ती मार्गहरु संयुक्त राष्ट्रसंघले चलाउनुपर्ने र मानिसहरुलाई उक्त क्षेत्र छोड्नका लागि त्यहाँ ४८ घण्टा युद्धविराम हुनुपर्ने बताएका थिए।

विद्रोहीको नियन्त्रणमा रहेको अलेप्पो सहरमा करिब ३ लाख मानिसहरु फसिरहेका छन् र राष्ट्रसंघले त्यहाँ मध्य अगस्टबाट खानेकुराको आपूर्ती सकिने ठानिएको बताएको छ।