बुधबार चुनाव, सहमति खोज्न कार्यदल व्यस्त

  • 1 अगस्ट 2016
तस्वीर कपीराइट bbc
Image caption कांग्रेस-माओवादी केन्द्रले संघीय गठबन्धनको समर्थन महत्वका साथ खोजेको देखिन्छ

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको छलफलमा व्यस्त संघीय गठबन्धन बुधवार हुने प्रधानमन्त्री चुनावमा प्रचण्डलाई समर्थन गर्ने/नगर्नेबारे सोमबार अबेर साँझसम्म अनिर्णित देखिएको छ।

नयाँ प्रधानमन्त्रीको चुनावको निम्ति मंगलबार उम्मेदवारी दर्ता गर्नु पर्नेछ।

सहमतिको खोजीको निम्ति गठबन्धन सहितको कार्यदल बैठकमा व्यस्त छ।

मधेश मामिलाका विश्लेषक तुलानारायण साहका अनुसार 'मंगलबार शीर्षस्थ नेताहरुले हस्ताक्षर गर्ने गरी सहमतिको खोजी भइरहेको' जानकारी पाएको बताए।

सजिलो

व्यवस्थापिका संसदले मंगलबार दिउँसो ४ बजेसम्म प्रधानमन्त्रीमा उम्मेदवारी दिनेको नाम बुधवार संसदमा निर्णयकानिम्ति प्रस्तुत गर्ने तालिका सार्वजनिक गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानपछि बहुमतीय सरकार गठनको प्रक्रिया शुरु भएको हो।

यसअघि दिइएको समयसीमाभित्र सहमतीय सरकार गठन हुन नसकेको भन्दै राष्ट्रपतिको आह्वान अनुसार सभामुख ओनसरी घर्तीले संसदमा उक्त प्रक्रिया अघि बढाएकी छन्।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य साना दलबाट प्रचण्डले समर्थन पाउने आश्वासन पाएको बताइएको छ।

कांग्रेसको दह्रो साथ पाएका प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुन गाह्रो देखिन्न।

चुनौती

तर प्रचण्ड दोश्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुने त्यस्तो सम्भावनाका माझ पनि उनीबाट ‘अचानक हमला’ को अनुभूति गरेका प्रधानमन्त्री केपी ओली मैदान खाली छाडिदिने पक्षमा देखिन्नन्।

तस्वीर कपीराइट ..

उनीविरुद्ध उठाउने उम्मेदवार मंगलबार चयन गर्ने नेकपा एमालेले जनाएको छ।

एमाले नेता सुवास नेम्वाङले भने, "प्रधानमन्त्रीमा उम्मेदवारी दिने पक्का छ, तर उम्मेदवारको चयन मंगलबार स्थायी समितिको बैठकले गर्नेछ।"

बलियो प्रतिपक्षको जोखिमका माझ कांग्रेस-माओवादी केन्द्रले भावि सरकारको राजनीतिक सफलतातर्फको बाटो फराकिलो बनाउन आन्दोलनरत संघीय गठबन्धनलाई महत्व दिएका छन्।