रुसी सैन्य हेलिकोप्टरमा ‘विद्रोही आक्रमण’

  • 1 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

सिरियाली विद्रोहीहरुले तीन जना चालक दलका सदस्य र दुई जना सैनिक अधिकारी बोकेको एमआइ-८ हेलिकोस्टरलाई इदलिब प्रान्तमा खसालिदिएको रुसी प्रतिरक्षा मन्त्रालयले जनाएको छ।

सो हेलिकोप्टरले घेराबन्दीमा परेको एलेप्पो शहरमा मानवीय सहायता सामग्री पुराएर फर्किरहेको बताइएको छ।

क्रेमलिनका प्रवक्ताले, उनकै शब्दमा, सो हेलिकोप्टरमा यात्रा गरिरहेका रुसी नागरिकले मानवीय सहायता पुर्याउने क्मरमा सहादत प्राप्त गरेको जनाए।

सो हेलिकोप्टर जलिरहेका दृश्यहरु अनलाइनमा देखिएका छन्।

सो हेलिकोप्टर कुन समूहले खसालेको हो त्यो प्रष्ट भएको छैन।

क्षति

इदलिबमा जिहादी समूहका सदस्य सहितका विद्रोही समूहको एक गठबन्धनको दबदबा रहँदै आएको छ।

सामाजिक सञ्जालहरुमा एउटा शवलाई हटाइएको दृश्य देखिएको छ।

बीबीसीका अरब मामिला संपादक सेबास्टियन असरले भने, रुसले राष्ट्रपति असदलाई सहयोग गर्दै सिरियामा हवाइ कारवाही थाले यताको रुसी पक्षले भोगेको यो सबै भन्दा ठूलो मानवीय क्षति हो।

रुसले सो हेलिकोप्टर मानवीय सहायताका लागि परिचालित भनेको छ।

तर त्यो भनाइप्रति आशंका गर्ने ठाउँ रहनेछन् किनभने रुसले आफ्नो हवाइ शक्तिको प्रयोग गर्दै एलेप्पोमा सरकार समर्थित फौजहरुलाई सघाउँदै आएको छ।

तर पछिल्लो घटनाले रुसलाई सिरियाली विद्रोहीविरुद्ध थप कठोर बनाउने देखिन्छ।