६० प्रतिशत मुद्दा छिनोफानो हुने अपेक्षा

  • 2 अगस्ट 2016
तस्वीर कपीराइट supreme court
Image caption नियुक्त भएका न्यायाधीशहरु मध्ये ७ जना करियरबाट आएका हुन् भने ४ जना वकालतबाट आएका छन्

सर्वोच्च अदालतमा करिब एक दर्जन नयाँ न्यायाधीश थपिएसँगै अदालतले लक्ष्य लिए अनुसार यो वर्ष ६० प्रतिशत मुद्दाको छिनोफानो गर्न सकिने विश्वास अधिकारीहरुले व्यक्त गरेका छन्।

लामो समय संसदीय सुनुवाई कुरेर बसेका न्यायाधीशहरुले अनुमोदन भएसँगै सोमबारबाट काम सुरु गरेका छन्।

अब अदालतमा प्रधानन्यायाधीशसहित २० जना न्यायाधीशहरु कार्यरत छन्।

वर्षौंसम्म अदालतले पूर्णता नपाउँदा अहिले अदालतमा २४ हजार भन्दा बढी मुद्दाहरु सुनुवाईको पर्खाइमा रहेका छन्।

विश्वास

नयाँ संविधानले प्रधानन्यायाधीश बाहेक बढीमा २० जना न्यायाधीश सर्वोच्चमा नियुक्त गर्न सकिने व्यवस्था गरेको छ।

यी न्यायाधीशहरुले काम थालेसँगै अब वर्षौंदेखि सुनुवाईको प्रतिक्षामा रहेका मुद्दाहरुको ठूलो हिस्सा फर्छ्यौट हुने अपेक्षा गरिएको छ।

सर्वोच्च अदालतमा अहिले निर्णय हुन बाँकी पुराना २४ हजार भन्दा बढी मुद्दा छन् र थपिने अनुमान गरिएको १३ हजार मुद्दासहित यो वर्ष ३७ हजार हाराहारीको मुद्दा छिन्नुपर्ने अनुमान अदालतका अधिकारीहरुले गरेका छन्।

न्यायाधीशहरुले अवकाश पाउँदै जाने तर समयमा नियु्क्ति नहुने गर्दा न्यायाधीशको संख्या घट्दै गएर ९ जनामा पुगेको थियो।

अब ११ न्यायाधीश थपिएपछि मुद्दाहरु छिटो सम्पन्न हुने बताइएको छ।

सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले भने,"हामीले अदालतमा रहेका मुद्दा मध्य ६० प्रतिशत फर्छ्यौट गर्ने लक्ष्य लिएका छौं। यो वर्ष अनुमान गरिएको ३७ हजारमध्ये कम्तिमा १८ हजार मुद्दा हामीले फर्छ्यौट गर्यौं भने त्यसपछि मुद्दा घट्ने क्रम सुरु हुन्छ।"

मुद्दाको अवस्था

सर्वोच्च अदालतमा दैनिक रुपमा ५० वटा मुद्दा फैसला हुने गरेको देखिन्छ। तर न्यायाधीशको अभावले ९ हजारमा घटिसकेको मुद्दाको संख्या बढेर २४ हजार पुगेको अदालतका अधिकारीहरु बताउँछन्।

गतवर्ष ९ जना न्यायाधीशले सर्वोच्चको इतिहासमै सबैभन्दा बढी ११ हजारको हाराहारीमा मुद्दा किनारा लागेको भए पनि अब भने लामो समयदेखि निर्णय हुन नसकेका पूराना र जटिल प्रकृतिका मुद्दाहरुमा ध्यान दिइने प्रवक्ता सुवेदीले बताए।

उनले भने, "झन्डै ११ हजार मुद्दा २ वर्ष नाघेका छन्। ५ वर्ष नाघेका मुद्दाहरु २ हजार भन्दा बढी छन्। पुराना मुद्दाको संख्या चाँहि बढ्दै गयो। सजिलो मुद्दा चांडै टुंगिने तर जटिल खाले मुद्दा थाँती रहने भयो। अब पुराना मुद्दाको पालो आउने र सुनुवाई हुने अवस्था हुनसक्छ।"

लामो समय रोकिएको न्यायाधीश नियुक्ति प्रकृयालाई हालै संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरिदिएपछि ११ न्यायाधीशको नियुक्तिले साकार रुप लिएको छ।

अब उनीहरुको काँधमा लामो समयदेखि थाँती रहेका मुद्दाको चाङ हेरी न्याय सम्पादनको प्रक्रियालाई गति दिने जिम्मेवारी थपिएको छ।