फ्लोरिडामा जिका रोक्न थप सतर्कता

  • 2 अगस्ट 2016
तस्वीर कपीराइट .

अमेरिकाको स्वास्थ्य निकाय सेन्टर्स फर डिजिज कन्ट्रोल (सिडिसि)ले गर्भवती महिलाहरुलाई लामखुट्टेबाट सर्ने जिका भाइरसको संक्रमणबाट जोगाउन फ्लोरिडा राज्यको माइअमीमा संक्रमणको खतराबारे थप सचेत तुल्याएको छ।

नयाँ जन्मने शिशुहरुमा गम्भीर स्वास्थ्य समस्या देखाउने उक्त भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने प्रयासलाई थप बलियो बनाउन सिडिसिका विज्ञहरु उक्त राज्यको माइअमी सहरमा जाँदैछन्।

स्थानीय स्तरमा नै उत्पति भएको भाइरसको संक्रमण माइअमीमा थप १० जनामा देखिएको सोमबार त्यहाँका अधिकारीहरुले बताएका थिए।

सिडिसिले गर्भवती महिलाहरुलाई उक्त क्षेत्रमा नजान सुझाएको छ।

संक्रमण

फ्लोरिडाको माइअमी सहरको उत्तर तर्फको एक माइलको सानो क्षेत्रफलमा अहिलेसम्म दुइजना महिला र १२ जना पुरुषमा गरि १४ व्यक्तिमा जिका भाइरसको संक्रमण देखिएको छ।

स्थानीय लामखुट्टेको टोकाइबाट पहिलोपटक जिका संक्रमित भएका उनीहरु मध्ये ८ जनालाई रोगका विभिन्न लक्षणहरु देखिएको थियो भने बाँकीलाई संक्रमण भएको स्वास्थ्य अधिकारीहरुले गरेको जाँचमार्फत पत्ता लागेको थियो।

भाइरसको संक्रमण हुने व्यक्तिहरुको संख्या बढेपछि यसले स्वास्थ्य निकाय सिडिसिलाई गर्भवती महिलाहरुलाई यसअघि दिइएको सुझाव परवर्तन गर्न बाध्य पारेको छ।

गत साता उक्त निकायले गर्भवती महिलाहरुले फ्लोरिडाको भ्रमण नै रद्द गर्नुपर्ने आवश्यकता नरहेको बताएको थियो।

तर अहिले भने उसले गर्भवती महिलालाई माइअमीको उक्त क्षेत्रमा भ्रमण नगर्न सुझाएको छ।

प्रयास

ती क्षेत्रमा रहेका दम्पतीलाई अबको दुइ महिनासम्म बच्चा जन्माउने गरि कुनै योजना नबनाउन पनि भनिएको छ।

फ्लोरिडा राज्यमा जिका संक्रमण थप घटनाहरु देखिने सम्भावना छ तर त्यहाँका अधिकारीहरुले जिकाको महामारी नै देखिने सम्भावना भने नरहेको जनाएका छन्।

उनीहरुले संक्रमण बढ्न सक्ने क्षेत्रका पानी जमेका ठाउँहरुमा स्प्रे छर्किएर सरसफाई गरेपनि त्यसले अपेक्षा गरेभन्दा निकै कम परिणाम दिएको देखिन्छ।