नयां प्रधानमन्त्री चुनिदैं

  • 3 अगस्ट 2016
prachanda तस्वीर कपीराइट bbc
Image caption माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकमात्रै उम्मेदवार रहेकाले उनी नयां प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ

संसदमा बुधवार नयां प्रधानमन्त्रीका लागि चुनाव हुंदैछ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र उम्मेदवारी परेकोले उनी देशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ।

तर ठूलो दल नेपाली कांग्रेस तथा संघीय गठवन्धन, फोरम लोकतान्त्रिक, राप्रपा लगायत साना दलहरुको बहुमतीय गठवन्धनमा उभिन लागेको प्रचण्ड सरकारको यात्रा निकै चुनौतीपूर्ण हुने विश्लेषकहरुको अनुमान छ।

बहुमत

नेकपा एमालेले प्रतिपक्षमा मतदान गर्ने घोषणा गरिसकेको अवस्थामा प्रचण्डले बुधवार संसदमा आफ्नो बहुमत प्रमाणित गर्नुपर्नेछ।

संसदको कुल ५९५ सदस्य संख्यामध्ये बहुमत पाउन २८८ मत आवश्यक पर्नेमा माओवादी अध्यक्ष प्रचण्डलाई ३ सय ६० भन्दा बढीले मत दिने पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले दावी गरेका छन्।

उनले भने," मलाई के विश्वास छ भने अत्याधिक बहुमतका साथ हामी विजय हुनेछौं। अझ अर्को उम्मेदवार नभएको अवस्थामा सबै दलले नै समर्थन गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। "

सबैभन्दा ठूलो दल कांग्रेसको २०७ र तेस्रो ठूलो दलको रुपमा माओवादी केन्द्रको आफ्नै ८१ मतसहित संघीय गठवन्धनको ४२, फोरम लोकतान्त्रिकको १४ र राप्रपाको १२ मत प्रचण्डलाई जाने बताइएको छ।

चुनौती

१० वर्षे द्वन्दकालपछि शान्ति प्रक्रियामा आएको नेकपा माओवादीले पहिलो दलको हैसियत प्राप्त गरेपछि प्रचण्ड विक्रम सम्वत् २०६५मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए।

तर नौ महिने शासन सञ्चालनपछि प्रधानसेनापतिलाई कारबाही गर्न खोजेको असफल प्रकरणपछि उनले २०६६ साल वैशाख २१ गते राजीनामा दिएका थिए।

बुधबार बिहान ११ बजे मतदान हुंदैछ, जहाँ एमालेसहित केही दलले उनको विपक्षमा मतदान गर्ने छन्।

यद्यपि अध्यक्ष प्रचण्डको लागि थुप्रै दलहरुको समर्थनलाई टिकाउन र सरकार गठनका क्रममा गरेका वाचाहरु पूरा गर्न निकै चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ।

संघीय गठवन्धनको सीमाकंनमा हेरेफेर सहितको माग र संविधान कार्यान्वयनका लागि आवश्यक कानून बनाएर असन्तुष्टहरुको माग सम्वोधन गरी संघीयता कार्यान्वयन गराउनु उनको लागि ठूलो चुनौती रहेको राजनीतिक विश्लेषकहरुको आकलन छ।