प्रचण्डको सपथग्रहण बिहीबार

  • 3 अगस्ट 2016
तस्वीर कपीराइट .

आफैंले समर्थन गरेको नेकपा एमालेको नेतृत्वको सरकारलाई विस्थापित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुधवार प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।

दोस्रोपटक प्रधानमन्त्रीको जिम्वेवारी सम्हाल्न लागेका प्रचण्डले नयाँ संविधानको सर्वस्वीकार्यताका लागि असन्तुष्ट पक्षहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन्।

साथै यसअघिको सरकारले अघि बढाएका महत्वपूर्ण आयोजना र चीनसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्ने प्रतिबद्धता पनि प्रचण्डले व्यक्त गरेका छन्।

उनको सपथ ग्रहण बिहीबार अपरान्ह हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

निर्वाचन

तस्वीर कपीराइट ..

झण्डै १० महिनाअघि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीविरुद्ध अविश्वासको मत दर्ता गराएर सरकारको नेतृत्व दाबी गरेका प्रचण्ड चुनावी मैदानमा एक्ला उम्मेदवार थिए।

नेपाली कांग्रेससहित एक दर्जन बढी साना दलको समर्थन रहेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित हुने पहिल्यै पक्का जस्तै थियो।

संसदको कायम ५ सय ९५ सदस्यमध्ये ३ सय ६३ जनाको समर्थन पाएका उनको विपक्षमा २ सय १० भोट खसेको थियो।

संसदमा भएको मतदानमा नेकपा एमाले र राप्रपा नेपालसहितका केही दलले प्रचण्डको विपक्षमा मतदान गरेका थिए।

तर संविधानप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि आन्दोलन गरिरहेका तराई केन्द्रित दलहरुको समर्थन जुटाउन प्रचण्ड सफल भएका थिए।

सहमति

ती दलसँग उनीहरुका माग पूरा गर्न संविधान संसोधन गर्ने सहितका ३ बुँदे सहमति गरेपछि संसदमा बोल्दै प्रचण्डले नयाँ संविधानलाई सर्वसम्मत बनाउन पहल गर्ने बताए।

उनले आफूलाई उनीहरुका माग सम्बोधन गर्न 'इतिहासले अघि सारेको स्वभाभिक पात्र’का रुपमा चित्रण गरेका थिए।

उनले भने,“अहिले मधेशसँगको मतभेदलाई हटाउने र मनोवैज्ञानिक भेदलाई हटाउने एउटा ऐतिहासिक आवश्यकता छ भन्ने मैले महसुस गरेको छु। सबैलाई मिलाएर आज देशमा जे जे समस्या छन् त्यसलाई समाधान गर्न मैले संकल्प गरेको छु।”

राजीनामा दिनुअघि अविश्वासको प्रस्तावको जवाफ दिने क्रममा आफ्ना पूर्ववर्ती ओलीले उठाएका तीखा प्रश्नका जवाफ दिन प्रचण्डले आफ्नो सम्वोधनको अधिकांश समय खर्चिएका थिए।

आफ्नो सरकार हटाउन देश बाहिरका शक्तिहरु पनि लागेको आशयको सार्वजनिक टिप्पणी गर्दै आएका ओलीले चीनसँग भएका सम्झौता तथा नेपाल आँफैले निर्माण गर्ने निर्णय गरेका द्रुत माग तथा हुलाकी मार्गको भविष्यबारे प्रश्न उठाएका थिए।

त्यसको जवाफमा प्रचण्डले भने, “फास्ट ट्रयाक र हुलाकी मार्गमा के गर्नुहुन्छ भनी उहाँले (ओलीले) सोध्नुभएको छ, हामी त्यो बनाउँछौँ भन्न चाहान्छु।”

त्यसका लागि आफूलाई साथ दिन उनले ओलीलाई आग्रह गरेका थिए।

छिमेकी

तस्वीर कपीराइट rawjendra kc

प्रधानमन्त्री चयनको प्रस्तावमाथि संसदमा भएको छलफलमा, नेपालको घरेलु राजनीति र त्यसमा बेलाबेलामा विवादमा तानिने गरेका दुई छिमेकीको चर्चा अरु नेताहरुले पनि गरेका थिए।

त्यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले भने, “भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु हाम्रो राष्ट्रिय हितमा छ, हामीले ती ठूला ठूला राष्ट्रका बीचमा खेल्ने काम हामीले गर्नुहुँदैन्, उनीहरु कुरा गरिहाल्छन् अनि हामी उल्लु बन्छौँ।”

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी र नेपालस्थित चिनियाँ राजदूतले उनकै निवास पुगेर प्रचण्डलाई बधाई दिएका छन्।

प्रचण्डको सपथग्रहण बिहीबार अपरान्ह ३ बजे हुने राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ।