ऐतिहासिक आयोजना अघि बढ्छन्: प्रचण्ड

  • 3 अगस्ट 2016
तस्वीर कपीराइट bbc

बुधबार संसदमा प्रधानमन्त्रीको चुनाव हुन अगाडि बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ऐतिहासिक आयोजना तथा चीन एवं भारतसंग भएका सन्धी सम्झौता अघि बढाउन नयाँ सरकार लागिपर्ने बताएका छन्।

गत साता राजीनामा दिने बेला प्रधानमन्त्री केपी ओलीले संसदमै बोल्दा आफूले शुरु गरेका फास्ट ट्र्याक आफ्नै स्रोतमा बनाउने तराईको हुलाकी मार्ग तथा चीनसंग भएका पारवहन लगायतका रणनीतिक सम्झौताको हालत नयाँ सरकारको पालामा के हुने भनी प्रश्न गरेका थिए।

ती प्रश्न नमीठो भएको संकेत गर्दै बुधबार प्रचण्डले ती सबै सम्झौता वा आयोजना आफ्नो पार्टीसमेत सहभागी सरकारले अघि बढाएको स्मरण गराए।

आलोचना

खासगरी चीनसंग रेल सम्पर्क बारे आफुले पहिलो पटक प्रधानमन्त्री भएर चीन जाँदाखेरिनै कुरा उठाएको उनले बताए।

“त्यो निर्णयमा हाम्रो सहभागिता थियो। तपाईंको जोडदार समर्थन चाहिन्छ। तपाईं विल्कुल चिन्ता नमान्नुस् देश हितका सबै विषय अघि बढाइनेछ,” प्रचण्डले ओलीलाई संकेत गर्दै भने।

तर प्रचण्डले ओलीले संसदमा बोल्दा आफू र आफ्नो पार्टीले पुर्याएको योगदान नजरअन्दाज गर्न खोजेको आरोप लगाए।

साथै उनले फास्ट ट्र्याक तथा काठमाण्डौं-केरुङ्ग रेलमार्ग जस्ता आयोजनाको बारे स्रोतको भने विचार नगरेको ओलीमाथि आरोप लगाए।