कानुनसम्मत कारवाही गर्न टर्कीलाई आग्रह

  • 3 अगस्ट 2016
तस्वीर कपीराइट AFP

युरोपेली परिषदका प्रमुखले परिषदको सदस्य राष्ट्र भएको नाताले युरोपेली मानवअधिकार सम्बन्धी कानुन पालना गर्न टर्कीलाई आह्वान गरेका छन्।

अंकारामा टर्कीका प्रधानमन्त्री बिनाली यल्दरमसंग कुराकानी गरेपछि टुर्ब्योर्न यागल्याण्डले त्यसो भनेका हुन्।

टर्कीले मानव अधिकार सम्बन्धी सन्धिप्रतिको आफ्नो दायित्वलाई हाल पन्छाएको भएता पनि उसले युरोपेली मानव अधिकारको मापदण्ड पुरा गर्नु पर्ने उनले बताए।

युरोपेली परिषदका महासचिव यागल्याण्डले टर्कीका प्रमुख अधिकारीहरुलाई भेटिरहेका छन्।

व्यापक कारवाही

धर्मगुरु फेतुल्लाह गुलेनसंग सम्बन्धित भएको आरोपमा भर्खरै टर्कीमा गरिएको कारवाहीले टर्कीको समाजका प्रायः तप्काहरुलाई छोएको छ।

पचास हजार भन्दा बढी मानिसलाई गिरफ्तार वा बर्खास्त गरिएको छ।

तर अमेरिकामा बस्ने गुलेनले उक्त कूको प्रयासमा आफ्नो कुनै भूमिका नभएको बताएका छन्।

टर्कीका अधिकारीहरुले यागल्याण्डलाई पश्चिमा साझेदारहरुबाट यथेष्ट सहायता नपाएको बताउने अनुमान गरिएको संवाददाताहरु बताउँछन्।

युरोपेली परिषद

यागल्याण्डको संस्थाले टर्की लगायत परिषदका ४७ वटा देशमा मानव अधिकारको पालना भएनभएको हेर्ने गर्दछ।

युरोपेली परिषद युरोपेली संघ (इयु) अन्कोतर्गतको संस्था त होइन, तर इयुका २८ सदस्य राष्ट्र र सबै प्रत्याशी राष्ट्रहरु त्यसका सदस्य छन्।

उक्त परिषदले मानव अधिकार सम्बन्धी सन्धिको स्थापना गरेको थियो।

टर्की पुग्ने बित्तिकै विदेशमन्त्री मेभ्लुट चावोशोलुका छेउमा उभिएर यागल्याण्डले गत महिनाको कू प्रयासका बारेमा युरोपमा राम्रो बुझाइ नभएको बताए।

त्यसका जिम्मेवारहरुमाथि कारवाही आवश्यक भएको तर त्यो कारवाही कानुनसम्मत हुनुपर्ने उनले बताए।

तनाव

कूप्रतिको उनको प्रतिक्रियाले टर्कीको नेतृत्व र उसका पश्चिमा साझेदार भनिने देशहरुबीचको तनाव चुलिएको छ।

मंगलबार राष्ट्रपति एर्दोआनले असफल कूको निर्देशिका विदेशमा लेखिएको भन्दै पश्चिमा मुलुकहरुले कूको पक्ष लिएको आरोप लगाएका थिए।

धर्मगुरु फेतुल्लाह गुलेनलाई टर्कीलाई जिम्मा लगाउन नसकेकोमा उनले अमेरिकाको विशेष आलोचना गरे।

अमेरिकाले भने अझै त्यस विषयमा अध्ययन गरिरहेको बताएको छ।

कूपछि टर्कीको सरकारले ३ महिनालामो संकटकालको घोषणा गरेपछि उसले स्वतः मानवअधिकार सम्बन्धी युरोपेली सन्धिप्रतिको आफ्नो दायित्व पनि पन्छाएको थियो।

कूको सम्बन्धमा गिरफ्तार गरिएका केही मानिसमाथि दुर्व्यवहार गरिएको आरोप केहीले लगाएका छन्।