बाँदरमुढेको वेदना

  • 4 अगस्ट 2016

दश वर्षे द्वन्द्वकै एउटा सबैभन्दा नृशंस मानिएको चितवनको माडी बस आक्रमणका पीडितहरुले शान्ति आएपछि पनि आफूहरुलाई सबैले बिर्सिएको बताएका छन्।

२०६२ सालमा माओवादीले माढीको बाँदरमुढेमा एउटा यात्रुवाहक बसमा विस्फोटन गराउँदा ३८ जना मारिएका थिए भने ७० भन्दा बढी घाइते भएका थिए।

उक्त आक्रमणलाई द्वन्द्वकालकै सबै भन्दा ठूलो गल्ती बताएका माओवादी अध्यक्ष प्रचण्डले पीडितका घाउमा मलम लगाउन विशेष प्याकेज ल्याउने वाचा गरेका थिए।

हतियार बिसाएपछि उनी दोस्रो पटक प्रधानमन्त्री बनेका छन् तर माडीका पीडितले अहिलेसम्म आफ्नो लागि प्रचण्डले मात्रै होइन कसैले पनि केही नगरेको गुनासो गरेका छन्।

अध्याँरो

चितवनको सदरमुकाम भरतपुरदेखि ४० किलोमिटर दक्षिणमा रहेको माडीमा बिजुली अझै पुगेको छैन त्यही भएर यहाँका मानिसहरु सौर्य उर्जाबाट काम चलाइरहेका छन्।

तर एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वको अध्याँरो सम्झनाले माडीवासीलाई पछ्याइरहेको छ।

०६२ जेठमा तत्कालीन माओवादी विद्रोहीहरुले यात्रु बसमा विस्फोटन गराउँदा ३८ जनाले ज्यान गुमाएका थिए भने ७० भन्दा बढी घाइते भएका थिए।

उक्त विस्फोटनमा घाइते भएका ईश्वरी पौडेल माडीस्थित कल्याणपुरीमा कपडा सिलाउने पसल सञ्चालन गरिरहेका छन्।

घरबाट झण्डै दुई सय मिटर पर भएको दुर्घटनामा चोट लागेपनि आफू र आफ्नी श्रीमती भाग्यले बाँचेको पौडेल सम्झन्छन्।

उनी भन्छन्, “अझै पनि त्यो दिन एकदमै कहालीलाग्दो र डरलाग्दो लाग्छ, मस्तिष्क सम्बन्धी बिरामी भएकाले म त्यो घटना सम्झन पनि चाहन्न, अझै औषधी खाइरहेको छु तनाव बढ्यो भने बेहोस भइहाल्छु, अहिले पनि एकदमै अप्ठेरोसँग जीवन बिताइरहेको छु।”

न्याय

पौडेलको भन्दा केही पर अलकापुरीमा घर भएकी दुर्गा थापा मगरको उक्त विस्फोटनका कारण मेरुदण्डमा गहिरो चोट लागेको थियो।

बिस्तारै ठीक भएको बताउने उनी अहिले गाउँमै सानो किराना पसल चलाइरहेकी छन्।

बारुदी सुरुङविरुद्धको अभियानमा ऐक्यबद्धता जनाएको एउटा सानो होर्डिग बोर्ड घरमा झुण्ड्याएकी उनी माडीका द्वन्द्व पीडितलाई सरकारले बिर्सिएको बताउँछिन्।

उनी भन्छिन्, “हामी गरेर खान सक्दैनौँ, बसेरै ओखती खान सक्ने बनाउन सरकारले केही व्यवस्था गरिदिए हुन्थ्यो, तर उसले अहिलेसम्म उपचार खर्च भनेर ४० हजार रुपैँया बाहेक केही पनि दिएको छैन्।”

माडी विस्फोटनमा आफन्त गुमाएका र घाइते भएका यहाँका पीडितहरुले राज्यबाट केही रकम राहत पाएको बताएका छन्।

तर द्वन्द्व सकिएपछि पनि युद्धको नियम मिचेर गरिएको उक्त हमलाको सत्यतथ्य बाहिर नआएको र कसैलाई कारबाही नगरिएकोमा उनीहरु असन्तुष्ट छन्।

उक्त आक्रमणमा आफ्ना बुवा गुमाएका यामनाथ सुवेदी भन्छन्, “सत्ता प्राप्तिका लागि राजनीतिक दलहरुले जनताले पाउने न्यायमाथि खेलावाड गरेका छन्, बल्ल आएर आयोग गठन गरिएको छ, त्यसले न्याय देला कि भन्ने झिनो आशामा हामी छौँ।”

माडीका पीडितहरुले न्याय माग्दै तत्कालीन विद्रोहीका स्थानीय र उच्च नेता समेतलाई कारबाही गर्नपर्ने माग गर्दै करिब ६० वटा उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता गराएका छन्।

वाचा

ती उजुरीमा उक्त आक्रमणको प्रमुख योजनाकारको आरोप लगाइएका माओवादीका स्थानीय इञ्चार्ज घनश्याम दाहालले बसमा गल्तीले आक्रमण भएको बताउँछन्।

द्वन्द्व नबढ्ने गरी समाधान खोज्नुपर्ने धारणा सबै सरोकारवाला पक्षको रहेको उनको भनाई छ।

उनले भने, “उक्त घटनामा संलग्नहरुलाई कारबाही गरेर समाधान हुन्छ भने हामी त्यसै गरौँ, तर त्यो आपराधिक योजना अनुसार भएको घटना होइन, पीडितहरुको भनाई द्वन्द्व पुन: निम्तिनुपर्छ भन्ने छैन, उनीहरुलाई राहत र क्षतिपूर्ति चाहिएको छ।"

द्वन्द्व सकिएपछि माओवादीका प्रमुख प्रचण्ड र विभिन्न समयमा बनेका सरकारले माडीको विकासका लागि विशेष परियोजना ल्याउने वाचा गरेका थिए।

तर बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले घोषणा गरेको ६० लाख रुपैयाँ बराबरको प्याकेजमा सहमति नभएपछि त्यसलाई खर्च नगरी फिर्ता पठाइएको थियो।

दवन्द्व सकिएको एक दशकमा नौ वटा सरकार बदलिसके तर सो द्वन्द्वको पीडाको छायाँबाट माडी अझै मुक्त हुनसकेको छैन्।