फेरिएकै हुन् प्रचण्ड?

  • 4 अगस्ट 2016
prachanda तस्वीर कपीराइट .
Image caption विपक्षी एमालेलाई पनि विश्वासमा लिएर तराई समस्या हल गर्ने चुनौती प्रचण्डसामु छ।

प्रधानमन्त्री निर्वाचित हुनुअघि संसदमा सम्बोधन गर्दै प्रचण्डले आफूले विगतमा गल्ती गरेको स्वीकार्दै आफूलाई बदलिएको नेताका रुपमा प्रस्तुत गर्न खोजे।

के सांच्चै बदलिएकै हुन् त प्रचण्ड?

समकालीन नेपाली राजनीतिमा प्रचण्डजति विवाद र चर्चाको केन्द्रविन्दुमा रहेका राजनीतिक पात्र शायदै होलान्।

कतिपय, गणतन्त्रसहित मुलुकको पछिल्लो परिवर्तनको जग हाल्ने श्रेय उनलाई दिन्छन् भने कटु आलोचकहरु, शक्तिकेन्द्रको स्वार्थमा मुलुकको स्थायित्व खलबलाउन प्रयास गर्ने पात्रका रुपमा उनलाई चित्रण गर्छन्।

साढे चार दशक लामो राजनीतिक यात्रामा दोस्रोपटक सिंहदरबारको आसनमा पुग्दै गर्दा प्रचण्डले कयौं राजनीतिक गल्ती भएको स्वीकारेका त छन् तर अहिलेपनि धेरैका लागि उनको चरित्र बुझ्नै कठिन अध्यायजस्तै देखिन्छ।

बदलाव!

प्रचण्डलाई नजिकबाट चिन्नेहरु उनलाई परिस्थितिअनुकूल आफूलाई बदलिरहनसक्ने नेताका रुपमा व्याख्या गर्छन्।

पछिल्लोपटक सत्तारोहणका लागि कित्ता बदल्ने उनको कदमपनि धेरैका लागि त्यही चरित्रको प्रतिविम्ब बन्न पुग्यो।

उनी आफैले पनि बुधबार संसदमा आफू अस्थिर चरित्रको भएको स्वीकार त गरे तर संगसंगै,त्यसकै कारण मुलुकलाई शान्ति प्रक्रियाको बाटोमा हिंडाउन सम्भव भएको निचोड सुनाउंदै आलोचकहरुलाई जवाफ दिने कोसिस पनि गरे।

शायद त्यस्तै अस्थिर चरित्रका कारण हुनसक्छ, उनका स्थायी शत्रु र मित्र पनि देखिएनन् जसलाई राजनीतिको सामान्य सिद्धान्त ठान्नेहरु पनि छन्।

तर कहिले आफैले मानसिक स्थिति ठीक नभएको आरोप लगाएका केपी ओलीसित, त कहिले परिवर्तनविरोधी भनेका र द्वन्द्वकालमा आफ्नै टाउकोको मूल्य तोक्ने शेरबहादुर देउवासंग उनले कुम जोडे।

Image caption नेपालले चीनसंग सम्बन्ध बढाएको भन्दै सशंकित दिल्ली र बेइजिंगबीच सन्तुलन मिलाउनु प्रचण्डसामु अर्को चुनौती हुनेछ

आठ वर्षअघिको सेनापति प्रकरणमा सत्ताच्यूत हुंदा भारतलाई इंगित गर्दै विदेशी प्रभु भनी दुत्कारेका प्रचण्डमाथि अहिले त्यही छिमेकीको छद्म साथ लिएर सत्तारोहण गरेको आरोप तरबारसरह झुण्डिरहेको पनि प्रष्ट देखिन्छ।

तर प्रचण्डको बदलावलाई उनको लचिलो चरित्रको रुपमा हेर्ने र त्यसकै कारण कतिपय अवस्थामा मुलुकका अप्ठ्यारा गांठो फुकेको ठान्नेहरुको पनि कमी छैन।

मौका

जातीयताको बीउ रोपेर मुलुकलाई भड्खालोमा धकेलेको कटु आरोपले प्रचण्डलाई अझै पनि पछ्याइरहेको छ जसलाई उनका समर्थकहरु, अन्य पक्षले दोषबाट चोखिन खोज्न गरेको प्रयत्नका रुपमा अर्थ्याउंछन्।

उनले संसदमा बुधबार आरोपप्रत्यारोपको राजनीतिक चरित्रमा बदलावको आवश्यकता पनि औंल्याए तर आफैले कुनैबेला समर्थन गरेको पूर्ववर्ती सरकारका प्रमुखविरुद्ध खनिएर त्यसमा उनी आफै खरो उत्रन नसकेको कतिपयको बुझाइ छ।

कति चाहिँ ठान्छन्, पारदर्शिता अपनाउने राजनीतिक चरित्रको पनि खांचो छ जुन नेपालका अधिकांश दलमा शून्यप्राय: प्रतीत हुन्छ।

कुनैबेला आफूलाई क्रान्तिकारी ठान्ने प्रचण्ड पनि आफैलाई र पार्टी जीवनलाई पारदर्शी बनाउन चुकेको ठान्नेहरु प्रशस्तै छन्।

अबको केहीसमय मुलुकको राजनीति प्रचण्डकै वरपर घुम्नेछ जतिखेर उनलाई आफ्नो राजनीतिक चरित्रमाथि उठेका यस्तै प्रश्नहरुलाई गलत सावित गर्ने मौका मिल्नेछ।