छोटो समय छ, पल पल उपयोग गर्छु : प्रचण्ड

  • 4 अगस्ट 2016
तस्वीर कपीराइट .
Image caption प्रचण्डले राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिए

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रुपमा आफुसँग समय निकै छोटो रहेकाले हरेक घडीको सदुपयोग गर्ने बताएका छन्।

राष्ट्रपतिबाट शपथ लिए लगत्तै केही औपचारिक समारोहमा पुगेर फर्केपछि उनले अल्पकालीन र दीर्घकालीन महत्वका कामहरु गर्ने बताए।

तर उनका ती योजना कार्यान्वयन गर्न विश्वासमा लिनुपर्ने मुख्य सहयात्री नेपाली कांग्रेसभित्र मन्त्री चयन प्रक्रियाले चरम असन्तुष्टि जन्माएको देखिन्छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले गएको दश वर्षमा आफुले निकै पाठ सिकेको र अब पलपलको सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाए।

'अग्नि परीक्षा'

उनले भने, "मलाई लामो समय पनि छैन। हरेक दिन हरेक घण्टालाई सदुपयोग गरेर केही काम गरिछाड्ने ऐतिहासिक जिम्मेवारी आएको ठानेको छु। अग्नि परीक्षा जस्तो महशुस मैले गरेको छु।"

प्रचण्डले समय छोटो भएपनि दीर्घकालीन योजना शुरु गर्ने घोषणा पनि गरे।

उनले भने, " रोजगारी सृष्टि गर्ने बारेमा पनि हाम्रो ध्यान जान्छ। केही दीर्घकालीन महत्वका ठूला आयोजना शुरु गर्नुपनि छ।"

प्रचण्डले व्यक्त गरेका चाहना र योजना कार्यान्वयन गर्न कम्तिमा प्रमुख सत्ता सहयात्री नेपाली कांग्रेसलाई विश्वासमा लिनुपर्ने वाध्यता छ।

तर कांग्रेसभित्र चाहना अनुसारको मन्त्री नपाएको भन्दै सभापति शेरबहादुर देउवा पक्षधर नेताले नै चरम असन्तुष्टि प्रकट गरेको बताइन्छ।

आलोचना

त्यसैगरी देउवासंग पार्टी सभापति पदका प्रतिस्पर्धी रहेका वरिष्ठ नेता रामचन्द्र पौडैलले देउवाको कार्यशैलीको आलोचना गरेका छन्।

पौडेलले भने, "सभापतिजीलाई माओवादी केन्द्रसँग सहकार्य गरेर संयुक्त सरकारमा जाँदा खेरी कस्तो नीति लिने, कुन कुन पार्टीसँग कस्तो व्यवहार गर्ने, यो कुरा पार्टीको शीर्ष तहमा छलफल हुनुपर्यो भनेर पहिलेदेखि भन्दै आएको त्यतापट्टि उहाँले ध्यान दिनुभएको छैन। "

यस्तो कुरामा गृहकार्य राम्रोसँग हुनुपर्ने र त्यसो हुन नसकेमा असन्तुष्टि बढ्ने उनले बताए। बुधबार प्रधानमन्त्री निर्वाचित भएका प्रचण्डले बिहीबार दिउसो राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएका थिए।

त्यसैगरी नेपाली कांग्रेसका तर्फबाट विमलेन्द्र निधि र माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महराले उपप्रधानमन्त्रीको शपथ लिएका थिए।

लगत्तै कांग्रेसका रमेश लेखक, माओवादीका गौरीशंकर चौधरी र दलजित श्रीपालीले पनि मन्त्री पदको शपथ लिएका थिए।