आसाम राज्यमा भएको हमलामा कम्तीमा १३ को मृत्यु

  • 5 अगस्ट 2016

तस्वीर कपीराइट AFP

भारतको उत्तरपूर्वी राज्य आसामको कोक्राझार क्षेत्रस्थित बालाजानमा एउटा बजारमा भएको हमलामा कम्तीमा १३ जनाको ज्यान गएको छ भने २० जना जति घाइते भएका छन्।

प्रहरीले उक्त हमलाका लागि त्यहां सकृय उग्रवादी समूह, न्याशनल डीमोक्र्याटिक फ्रन्ट अफ बोडोल्याण्ड, लाई जीम्मेवार ठहर्याएको छ र एकजना उग्रवादीलाई मारिदिएको बताएको छ।

आक्रमणकारीहरुले अन्धाधुन्ध गोली चलाउंदा कयौं गैरसैनिकहरु घाइते पनि भएका बताइएको छ।

सुरक्षा सैन्यसंगको भिडन्तपछि भागेका अन्य चार पांचजनको खोजी भैरहेको बताइएको छ।

संलग्नता

राज्यका प्रहरी प्रमुख मुकेश सहायले उक्त हमलाका लागि न्याशनल डेमोक्र्याटिक फ्रन्ट अफ बोडोल्याण्ड, एनडीएफबी समूह जीम्मेवार रहेको बताएका छन्।

उनले भने, “अहिले सम्म घटनामा हामी एनडीएफबी को मात्र संलग्नता रहेको ठान्दछौं।

"उक्त समूहले हमला गर्ने यो पुरानै तरिका हो। किनभने पहिले देखि नै तिनीहरुले सफ्ट टारगेट भनिने कमजोर निशानाहरुमाथि हमला गर्दै आएका छन्।“

ग्रेनेड समेत प्रहार गरी भएको उक्त हमलाका कारण त्यहांका कतिपय घर र पसलहरुमा पनि क्षति पुगेको छ।

कोक्राझार क्षेत्रमा अवस्थित उक्त हिंसात्मक घटनास्थललाई सुरक्षा सैन्यले घेराबन्दीमा राखेका छन्।

आसामका गृहमन्त्री किरन रिजीजुले, विद्रोहीहरुले बोडोल्याण्ड राज्यको माग गर्दै आएका भएतापनि केहि समय देखि राज्यमा शान्ति कायम रहेको बताएका छन्।   “यस्तो कायरतापूर्ण कार्यका पछाडी को को छन् भनेर हामीले यकिन गर्नुपर्छ। यो नहुनु पर्ने घटना भएको छ, यति धेरै मानिसहरुले ज्यान गुमाउनु परेको छ।“

माग

जातिय बोडो विद्रोहीहरुले आफ्नो पुर्ख्यौली बासस्थानमा एउटा पूर्ण बोडोल्याण्ड राज्य हुनु पर्ने माग गरिरहेका छन्।

त्यस क्षेत्रमा सन् २०१२ देखि जातिय हिंसाको लहर देखिएको छ।

सन् २०१४ मा एनडीएफबी का विद्रोहीहरुले सोनितपुर र कोक्राझारमा कम्तीमा ६२ जनालाई मारिदिएका थिए।

भारतका दुर्गम उत्तरपूर्वी ईलाकामा सकृय विभिन्न असन्तुष्ट जातिय समूह मध्ये उक्त समूह पनि एक हो।

आक्रमण भएको स्थलमा एक प्रकारको स्वायत्त शासन लागु छ तर विद्रोहीहरु एउटा सम्पूर्ण बोडोल्याण्ड राज्य चाहन्छन्।

जुन कारणले गर्दा त्यहां बर्षौं देखि साम्प्रदायिक र जातिय द्वन्द्व चलिरहेको छ। परिणाम स्वरुप हजारौं मानिसहरु त्यहांबाट विस्थापित भएका छन्।