दक्षिण अफ्रिकामा सत्तारुढ दल पराजित

  • 7 अगस्ट 2016
तस्वीर कपीराइट EPA

दक्षिण अफ्रिकाको स्थानिय चुनावमा सत्तारुढ आफ्रिकी नेशनल कंग्रेस एएनसीले हालसम्मकै नराम्रो हार भोगेको छ।

रंगभेदी शासन अन्त्य भएपछि अल्पसंख्यक गोरा समुदायलाई विस्थापित गर्दै शक्तिमा आएको उक्त पार्टीको यो अहिलेसम्मकै खराब चुनावी परिणाम हो।

एएनसी देशको सबैभन्दा ठूलो शहर जहानेशवर्गमा आफ्नो पकड कायम राख्न सफल भयो।

तर राजधानी प्रिटोरिया र पोर्ट एलिजावेथमा उसलाई विपक्षी डेमोक्रेटिक एलायन्सले पछि पारेको छ।

प्रयास

तस्वीर कपीराइट

दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले पार्टीको पराजयपछि पनि आफु बलियै रहेको देखाउने प्रयास गरेका छन्।

उनले भने, “दक्षिण अफ्रिकीहरुको जनमत र सत्ता हस्तान्तरणबारेको निर्णयका कारण हामी संधैँ गौरवान्वित छौँ। मतपेटिका मार्फत यो शान्तिपूर्ण रुपमा भइरहेको छ। हाम्रो प्रजातन्त्र परिपक्व बनिरहेका छौँ।”

सन् १९९४ मा प्रजातन्त्र आएपछि उक्त दलले पहिलो पटक राजधानी प्रिटोरियामा पराजय व्यहोरेको छ।

स्थानिय तहको चुनावको परिणाम एएनसीको लागि एउटा ठूलो सच्चिने मौका भएको टिप्पणीहरु आएका छन्।

दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलासँगै २० वर्ष जेलमा विताएका एएनसीका वरिष्ठ नेता डेनिस गोल्डमेनले पार्टीले आफ्नै कारण चुनावमा पराजित भएको बताएका छन्।

उनले भने “एएनसीले संघर्षका क्रममा र सन् १९९४ को स्वतन्त्रतापछिको एक दशकसम्म कायम राखेको आफ्नो नैतिक धरातल गुमाएको छ। भ्रष्ट्राचार, कृपावाद, अनि आफुले प्रतिनिधित्व गर्ने जनतालाई सेवा दिनुभन्दा आफैंलाई धनी बनाउने प्रवृत्ति पार्टि भित्र बढेको छ।”

मुद्दा

अहिले पनि उक्त दलका देश भर ठूलो संख्यामा समर्थकहरु छन्। तर त्यो विस्तारै कमजोर हुँदै गएको छ।

बहुसंख्यक अश्वेतहरुले अन्धभक्त भएर आफुलाई भोट हाल्ने अवस्था नरहेको एएनसीले आत्मसात गर्नुपर्ने अवस्था देखिएको दक्षिण अफ्रिकामा रहेका एक जना बीबीसी संवाददाता बताउँछन्।

सबैभन्दा राम्रो उदाहरण रंगभेदी शासन विरुद्धको गौरवपूर्ण संघर्षको इतिहास भएको नेल्शन मण्डेला बे नगरपालिकाको चुनावी परिणाम हो, जहाँ विपक्षी डेमोक्रेटिक एलायन्सका उम्मेदवारले जित हात पारेका छन्।

त्यहाँका नयाँ नगरप्रमुख गोरा जातिका छन्।

रंगभेदी शासन अन्त्य भएको २० वर्षपछि दक्षिण अफ्रिकामा अश्वेत मानिसहरुले जात नभई यसपटक मुद्दाका आधारमा मतदान गरेको पाइएको छ।