‘थाइल्याण्डमा नयाँ संविधान अनुमोदित’

  • 7 अगस्ट 2016
तस्वीर कपीराइट AFP

थाइल्याण्डका मतदाताहरुले स्पष्ट बहुमतले सेनाद्वारा निर्मित नयाँ संविधानलाई अनुमोदन गरेका छन्।

त्यहाँको निर्वाचन आयोगका अनुसार ६० प्रतिशतभन्दा बढी मतदाताले मत नयाँ संविधानको पक्षमा मत जाहेर गरेका छन्।

महिनौँदेखिको राजनीतिक अस्थिरता र बेलाबखतको हिंसापछि सन् २०१४ मा सत्ता हातमा लिएसँगै थाइल्याण्डको सेनाले तत्कालीन संविधान हटाइदिएको थियो।

नयाँ संविधानका समर्थकहरुले देशमा अब स्थिरता कायम हुने बताएका छन् भने आलोचकहरुले नयाँ संविधानले सेनाको नियन्त्रण बढाउने तर्क गरेका छन्।

चयन

मतदाताहरुले दोस्रो प्रस्तावलाई पनि समर्थन गरेका छन्, जसअनुसार मनोनित सांसदहरु पनि प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी हुनेछन्।

निर्वाचन आयोगका अनुसार उक्त प्रस्तावको पक्षमा पनि ६० प्रतिशतभन्दा बढी मतदाता उभिएका छन्।

नयाँ संविधानको मस्यौदाको विपक्षमा अभियान चलाउन प्रतिबन्ध लगाइएको थियो भने दर्जनौँ मानिसहरु गिरफ्तार गरिएका छन्।

तस्वीर कपीराइट Reuters

थाइल्याण्डका ठूला राजनीतिक दलहरुले नयाँ संविधान अस्वीकार गरेका छन्।

राजधानी बैंककस्थित एउटा मतदान केन्द्रमा मतदान गरेपछि प्रधानमन्त्री प्रायुट जानोचाले भनेका थिए, “मतदान गर्न आउनुस् किनकि मुलुकको भविष्यका निम्ति आजको दिन महत्वपूर्ण छ। यो हाम्रो कर्तव्य हो र लोकतन्त्रको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रक्रियाको यो एउटा पाटो पनि हो।”

मतदानका क्रममा शान्ति सुव्यवस्था कायम गर्न देशभर दुई लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो।

अस्वीकार

मतदानका बेला प्रदर्शनको कुनै घटना नभएको बातइएको छ।

बैंककस्थित बीबीसी संवाददाता जोनाथन हेडका अनुसार केही मानिसहरु लामो समयसम्म लाइन बस्नुपरेको थियो र मतदान सहजतापूर्वक सम्पन्न भएको थियो।

स्वतन्त्र पर्यवेक्षकहरुले निर्वाचन पर्यवेक्षणका निम्ति अनुमति मागेपनि त्यहाँको निर्वाचन आयोगले अस्वीकार गरेको थियो।

मतदान गर्न योग्य ५ करोड मतदाताहरुलाई जनमत संग्रहमा सोधिएको थियो: के तपाईं नयाँ संविधानको मस्यौदा स्वीकार गर्नुहुन्छ?

पूरक प्रश्नको रुपमा सोधिएको थियो: प्रधानमन्त्री चयन प्रक्रियामा तल्लो सदनमा के मनोनित सांसदहरु पनि सहभागी हुनुपर्छ?